करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं । देशको दुई छुट्टाछु्टटै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । झापा र डडेल्धुरा जिल्लाको विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर झापाको बाह्रदर्शी गाउँपालिका–६ मिलनचोक बस्ने २८ वर्षीय बुद्धराज लिम्बुको मंगलबार दिउँसो मृत्यु भएको छ । लिम्बुको सोही ठाउँस्थित खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
यता डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा ब्याट्रीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मंगलबार एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका–१ गैरा बस्ने ३० वर्षीय राजु विक रहेका छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।