पेन्सन कोषको पैसा ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

तु खबर संवाददाता
२०८० फाल्गुन १७,बिहीबार १७:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।

कूल निक्षेपमध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक र ७० लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्न चाहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार, इच्छुक बैंक तथा वित्त कम्पनीले २०८० फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आगामी चैत २ गतेदेखि राखिने निक्षेप २०८१ चैत १ गतेसम्म कूल ३६६ दिन मुद्दती राखिने जनाइएको छ ।