हेटौंडा काठमाडौं सडक : गम्भीर वातावरणीय क्षति
सुदिप पराजुली
आजभन्दा केही वर्षअघि हेटौंडा कुलेखानी काठमाडौं सडकमा अहिलेजस्तो पहिरो र क्षति हुँदैन थियो । कुलेखानी जल विद्युत आयोजनाले आफ्नो ड्याम साइड कुलेखानीसम्म पुग्न बनाएको यो सडक धेरै सोचबिचार गरेर बनाइएको थियो । जहाँ पाए त्यहीँ पहाडहरु भत्काइएको थिएन । सडकहरु मनलाग्दी खनिएको थिएन ।
तर, केही वर्षअघि डोरमणि पौडेलको नेतृत्वको सरकारले यो सडकलाई विस्तार गर्ने योजना ल्यायो । तर, यसका वातावरणीय क्षतिका बारेमा खासै कुनै अध्ययन भएन । टेन्डर खोलियो र जथाभावी पहाडमा डोजर र एक्स्ट्राभेटर चलाइयो ।
आजका दिनमा यो सडकमा हिड्न सकिने अवस्था विद्यमान छैन् । जतासुकै पैह्रो झरेको छ र कतिबेला मानवीय क्षति हुने हो भन्ने त्रासमा नागरिक यो सडक भएर राजधानी काठमाडौं जान बाध्य भएका छन् । तर पनि उचित विकल्पको अभावमा नागरिकले यस्तो जोखिम रोजिरहेका छन् कि यो सडक भएर हिड्दा पचासौ ठाउँमा आंग नै सिरिग हुन्छ ।
हामीले दियो विकासको कुरा गरिरहेका छौँ । विकासमात्र होइन, जहाँ विकास हुन्छ त्यहाँ दिगो विकास हुन जरुरी छ र कार्ययोजनाहरु पनि सोही अनुसार हुन जरुरी छ ।
ठूलाठूला पहाडमा डोजर चलाइयो । पहाडहरुमा अस्तव्यस्त तरिकाले मेसिन चलाउँदाको परिणाम अहिले जहाँतहीँ जमिन भाँसिने, पग्लिने र क्षती हुने अवस्था बनेको छ । सरकारले यसलाई कहिले पनि जिम्मेवार तरिकाले लिएको देखिँदैन । यो बीचमा यी सडक भएर ओहोर दोहोर गर्ने सवारी र नागरिकलाई भयानक क्षति पुगेको छ । यसरी पुगेको क्षतिका बारेमा न त प्रदेश सरकारले केही चिन्ता गरेको छ न त केन्द्रीय सरकारले नै यसलाई गम्भीर रुपमा लिएको छ । दिनहँुजसो नागरिकहरु सास्ती खेप्दै यो सडक भएर ओहोर दोहोर गरिरहेका छन् र सकेजति सरकारलाई गाली गरिरहेका छन् ।
प्रदेश मातहत भौतिक मन्त्रालय छ जसले विकास निर्माणको काममा नीतिगत र प्राविधिक नेतृत्व गर्ने गर्दछ । विकास निर्माणको काम गर्दा त्यसले वातावरणमा पार्न सक्ने संभावित असरबारे अन्देखा गर्न मिल्दैन थियो । जसले स्थानीय मात्र होइन विश्वको वातावरणीय अवस्थालाई समेत गम्भीर असर पार्दथ्यो । तत्कालकै आधारमा हेर्ने हो भने मानवीय र भौतिक क्षति पनि डरलाग्दो तहमा हुने अवस्था छ ।
तर, सरकारलाई जनताको यस्तो मर्काबारे कुनै चिन्ता देखिएको छैन । विकास निर्माणका विरुद्ध बोल्दा विकास विरोधी हुइने डरका कारण नागरिक समाजका अगुवाले बोल्दै छोडिदिए जसका कारणले सरकारमा नेतृत्व गर्नेहरुलाई हाइसन्चो भयो । यो तै चुप मै चुपका कारण अहिले जनता आफ्नो जीवन हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । यो क्षणिक विषय भयो, दीर्घकालिन र थप चिन्ताको विषय भनेको यसले वातावरणमा पारेको गम्भीर असर हो र जसको क्षतिपूर्ति तत्कालै संभव पनि देखिँदैन ।
यसरी मनलाग्दो तरिकाले वातावरणलाई गम्भीर असर पार्ने गरी कामको योजना बनाउने, निर्णय गर्ने र कार्यान्वयन गर्नेहरुमाथि उच्चस्तरीय छानविन आवश्यक छ । कडाभन्दा कडा कारवाही जरुरी छ । तत्र भने विकासको नाममा दिगो विकासविरुद्ध निरन्तर गतिविधि भइरहेने छ र वातावरणमा मात्र होइन तत्कालै मानवीय र भौतिक क्षति पनि भइरहने स्थिति छ ।