मकवानपुरमा फागुन २८ देखि मतदाता नामावली अद्यावधिक गरिने
मकवानपुर । मकवानपुरमा यही फागुन २८ गतेदेखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ ।
मंगलबार एक कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका कार्यालय प्रमुख तारा प्रसाद आचार्यले यही फागुन २८ गतेदेखि चैत्र २२ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी गराएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित सो कार्यक्रममा आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्य गर्न लागेको उनले बताए ।
प्रमुख आचार्यका अनुसार, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र कसैले झुटा विवरण दिएर नाम दर्ता गरेको भए सोको विरोधमा उजुरी दिने, एक भन्दा बढी स्थानमा नाम समावेश भए एक स्थानमा मात्रै कायम गर्ने, मृत्यु भएका वा नेपाली नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने लगायतका कार्य अद्यावधिक कार्यक्रममा हुनेछ ।
कार्यक्रममा मतदाता नामावली अद्यावधिक लगायत समसामयिक विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सूर्यप्रसाद सेढाईँले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने रङ्गिन कटन क्यान्डी बिक्री–वितरणमा प्रतिबन्ध लगाउने विषयमा सरोकारवाला निकायसँग छलफल गरि छिट्टै निर्णय दिने बताए ।
प्रजिअ सेढाईँको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।