मकवानपुरबाट ४ जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन २७,आईतवार १६:४०

मकवानपुर । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ लाख रुपैयाँ बढी भारतीय रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार सितामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० को राकेशकुमार, वर्ष ३० को चन्द्र बाबु, वर्ष ३७ को अशोक राय र नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर–४ बस्ने वर्ष ३२ को निजाम मिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी वरिष्ठ नायव निरीक्षक सुन्दरकुमार कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको विआर ०१ एआर २९९१ नम्बरको भारतिय कारलाई रोकेर चेकजाँच गरेको थियो ।

सो क्रममा उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त कारको सिट मुनी लुकाई ल्याइएको भारतीय रकम ५ लाख ४९ हजार र २ लाख ५० हजार रुपैयाँ रकम बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये भारत बिहार सितामणि थाना–९ भुभैरवो बस्ने राकेशकुमार कार चालक हुन् भने अन्य तीनै जना कारमा सवार रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

पक्राउ परेका भारती नागरिकहरु रक्सौल नाकाबाट वीरगंज हुँदै आएको र नेपाली नागरिक मिया सुनसरीबाट महोत्तरी हुँदै पथलैयाबाट सो कारमा चढेको खुल्न आएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।