मकवानपुरमा बहुभाषा साहित्य

सञ्जय साह मित्र
२०८० फाल्गुन २८,सोमबार १२:३०

मकवानपुरलाई साहित्यको राजधानी मानिन्छ । आजभोलि देशको संघीय राजधानीका विशिष्ट साहित्यकारहरुले पनि बागमती प्रदेशको राजधानी हेटौँडालाई साहित्यको राजधानी मान्ने गरेका छन् । यो निकै सकारात्मक पक्ष हो । यसले साहित्यको क्षेत्रमा मकवानपुरले गरिरहेको कर्मको मूल्यांकन भएको छ । साहित्यमा मकवानपुरको विशिष्टताको मगमगाउँदो सुगन्ध विस्तार भइरहेको छ । साँच्चिकै मकवानपुरमा साहित्यको विशिष्ट र सामान्य कार्यक्रमहरु जसलाई फेरि पनि विशिष्ट मान्न सकिन्छ, भइरहन्छन् । साहित्यिक कार्यक्रमहरुको आयोजना, कृतिहरुको पठन र कृतिहरुको प्रकाशनले मात्र होइन साहित्यकारहरुको सम्मानले समेत हरेक महिना मकवानपुरलाई विशिष्ट बनाएको हुन्छ ।

मकवानपुरको यो पनि विशिष्टता रहेको छ कि जनप्रतिनिधिहरुले साहित्यलाई आत्मसात गरेका छन् । साहित्यमा जनप्रतिनिधिहरुको लगानी बढेको छ । यो अर्को सुखद पक्ष हो कि मकवानपुरमा नेपाली साहित्यको विकासमा सबै पक्षको योगदान रहेको छ । मकवानपुरे साहित्यकाशलाई अझ धेरै फराकिलो बनाउनुपर्ने किसिमका विचारहरु आइरहेका छन् । यस्तै विचारमध्ये एक विचार एकजना प्रसिद्ध समाजसेवी तथा साहित्यकार अनि साहित्यसेवीबाट आएको छ : मकवानपुरमा बोलिने सबै भाषालाई लिएर एउटा प्रतिष्ठान गठन गर्ने वा सबै भाषाको साहित्यलाई प्रबद्र्धन गर्ने । हुन त मकवानपुरमा अन्य भाषाको साहित्यले स्थान पाउँदै नपाएको होइन । विगतमा मेरै सम्पादनमा कुराकानी साप्ताहिकको साहित्य शृङ्खलामा बहुभाषिक अङ्क प्रकाशन भएको थियो ।

सम्भवतः बहुभाषा साहित्यको क्षेत्रमा भएको सम्भवतः पहिलो प्रयास नै थियो । मकवानपुरकै संस्थाले बज्जिका भाषाको पहिलो पुस्तक प्रकाशन गरेको इतिहास छ । नेपालमा बज्जिका भाषाको पहिलो पुस्तक हो – पच्चीस डेङ । यो मेरो कविता संग्रह हो जुन २०६१ मा प्रकाशित भएको थियो । हेटौँडाले प्रकाशित गरेको यही पुस्तकाट नेपालमा बज्जिका भाषाको कृति प्रकाशनको युग आरम्भ भएको थियो । अहिले करिब दुई दशक पुग्न लाग्दा बहुभाषिकताको सन्दर्भमा विचार आउन थाल्नु निकै सुखद पक्ष रहेको छ । यसपटक मकवानपुरमा रहेका भाषाभाषीको संख्याबारे अलिकति जानकारी लिऔँ ।

मकवानपुर बहुभाषिक जिल्ला हो । राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामले यसलाई पुनर्पुष्टि गरेको छ । मकवानपुर जिल्लाको सबैभन्दा ठुलो मातृभाषा तामाङ हो । मकवानपुरको जनसंख्या ४ लाख ६६ हजार ०७३ रहेकामा तामाङ मातृभाषी २ लाख ०६ हजार १५४ जना र नेपाली मातृभाषी १ लाख ९१ हजार ९२६ जना रहेका छन् । यसै गरी चेपाङ २०६२१, नेपाल भाषा (नेवारी) १७६५९, भोजपुरी ८१४३, मगर ढुट ६७८०, राई ३३३८, मैथिली २८०४, थारु १५३८, गुरुङ ११३५, हिन्दी १०६४, माझी ९३२, घले ५७५, दनुवार ५५७, बज्जिका ५४६ रहेका छन् । मकवानपुरमा बज्जिका पन्ध्रौँ ठुलो मातृभाषाको रुपमा बज्जिका भाषा रहेको देखिएको छ ।

यसैगरी पहरी ४७६, उर्दू २७५, सुनुवार १९३, मारवाडी १८४, लिम्बु १५९, अवधि १३५ रहेका छन् । १०० भन्दा कमको संख्यामा रहेका मातृभाषाहरुमा संस्कृत, मगर खाम, शेर्पा, थामी, डोटेली, भुजेल, बनकरिया, बंगला, मुसलमान, दराई, चाम्लिङ, बोटे, खस, दुमी, बान्तवा, जिरेल रहेका छन् । मकवानपुरमा सांकेतिक भाषा पनि प्रयोग हुने गरेको छ र अन्य भाषाका वक्ताको संख्या पनि १५० रहेको देखिएको छ । सांकेतिक र अन्य भाषा जसको नामोल्लेख हुन पाएको छैन, बाहेक मकवानपुरमा ३९ भाषा मातृभाषाको रुपमा बोल्ने गरिएको पाइएको छ । भाषामा संस्कृति पनि निहित हुन्छ । यस दृष्टिकोणले विचार गर्ने हो भने मकवानपुरको भाषा पनि यहाँको सांस्कृतिक सम्पदा हो ।

मकवानपुर जिल्लामा सम्पर्क भाषा वा दोस्रो भाषाको रुपमा बोलिने भाषाको संख्या पनि धेरै रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाली, तामाङ, मैथिली, हिन्दी, अंग्रेजी, राई, लिम्बु, भोजपुरी, नेवारी, उर्दु, मगर ढुट, अवधि, बोटे, बैतडेली, चाम्लिङ, संस्कृत, चेपाङ, गुरुङ, थारु, मारवाडी, सम्पाङ, बज्जिका, मगर खाम, मेवाहाङ, मनांगे आदि रहेका छन् । अन्यमा पनि केही भाषा रहेको हुनुपर्छ । यसरी मकवानपुर जिल्लामा कम्तीमा २५ भाषा रुपमा सम्पर्क भाषाको रुपमा रहेको छ । मकवानपुर जिल्लामा सम्पर्क भाषाको रुपमा पच्चीस भाषाको उपस्थिति हुनु एउटा उपलब्धिमूलक पक्ष मानिनु पर्छ ।

राष्ट्रिय जनगणना २०७८ ले पहिलोचोटि नेपालमा पुर्खाको भाषा अर्थात् पितृभाषाको गणना पनि गरेको छ । यस जनगणनाबाट मकवानपुरबाट पितृभाषाको रुपमा तामाङ, नेपाली, नेवारी, चोपाङ, मगर ढुट, भोजपुरी, राई, मैथिली, गुरुङ, माझी, संस्कृत, थारु, पहरी, हिन्दी, घले, दनुवार, बज्जिका, उर्दु, सुनुवार, अवधि, भुजेल, लिम्बु, मगर खाम, मारवाडी, खस, मुसलमान, शेर्पा, बैतडेली, डोटेली, थामी, बनकरिया, बोटे, बंगला, कुमाल, दराई, चाम्लिङ, बान्तवा, जिरेल, दुमी, खालिङ, बझांगी, पुमा, सन्थाली, धिमाल भाषा रहेका छन् । अन्य भाषाहरु पनि पितृभाषाको रुपमा रहेको उल्लेख गरिएको छ । मकवानपुरमा करिब त्रिचालिस भाषा पितृभाषाको रुपमा रहेको देखिएको छ । साँच्चिकै पितृभाषाको दृष्टिकोणले हेर्ने हो भने मकवानपुरलाई भाषाको सानोतिनो संग्रहालय नै मान्नु पर्ने अवस्था देखिन्छ ।

मकवानपुरमा अनेकौँ भाषाको अस्तित्व रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । मकवानपुरलाई मातृभाषा, पितृभाषा र सम्पर्क भाषा सबै दृष्टिकोणले बहुभाषिक जिल्ला भन्न सकिन्छ । यस अर्थमा मकवानपुरमा सर्वभाषा साहित्य वा बहुभाषा साहित्यको औचित्य र आवश्यककता रहेको छ । नेपाली साहित्याकाशको विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेको मकवानपुरे साहित्यले सर्वभाषा साहित्यको अवधारणालाई पनि आत्मसात गर्ने हो भने निश्चित रुपमा मकवानपुरले विश्वको बौद्धिकतालाई पनि एउटा नयाँ आकार दिने सम्भावना रहन्छ । देशको बहुभाषिक नीतिलाई समेत अंगीकार मकवानपुरको बहुभाषिक अस्तित्वलाई मकवानपुरे साहित्यको छातामुनि ल्याउनु अबको गन्तव्यको एक भाग हुनुपरेको छ ।

(मकवानपुरको महक: शृङ्खला २१)