‘मानव अधिकार संरक्षणमा जुटिरहेका छौँ’
पछिल्लो समय विभिन्न क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दो छ । राजनीतिक, व्यावसायिक क्षेत्रमा मात्रै नभई विभिन्न संघ–संस्थामा क्रियाशील रहेर उनीहरुले समाज रुपान्तरणका लागि योगदान पुर्याउँदै आएका छन् । सुव्यवस्थित, समतामुलक र विभेदरहित समाज स्थापना गर्न महिलाहरुको भूमिका महत्वपूर्ण छ । समाजमा रहेका विकृति, विसंगतीविरुद्ध आवाज उठाउने, सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, नागरिक अधिकारको रक्षा एवम् अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सकारात्मक प्रयासहरु भइरहेका छन् ।
जवरजस्ती करणी, महिला हिंसा, मानव बेचविखनलगायत अपराधिक घटना न्यूनिकरण गर्न जिल्लामा रहेका सरकारी एवम् गैरसरकारी संस्थाहरुले आ–आफ्नो तर्फबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेका छन् । र, ती अधिकाँश गैरसरकारी संस्थाको नेतृत्वमा रहेर महिलाहरुले काम गरिरहका छन् । समाजलाई सचेत गराउँदै जनहितका विभिन्न कार्यक्रम गरिरहेको गैरसरकारी संस्थामध्ये एक हो, हिमराइट्स मकवानपुर । यसले मकवानपुरमा मात्रै नभई अन्य जिल्लामा पनि समाज रुपान्तरणका लागि प्रयास गरिरहेको छ ।
हिमराइट्स मकवानपुरले गरिरहेका कामहरु, त्यसको प्रभाव, भएका उपलब्धीहरु, समाजमा देखिएका समस्याहरु र संस्था स्वयम्ले झेल्दै आएकोे चुनौतीलगायत विभिन्न विषयमा तु खबरले संस्थाकी कार्यक्रम संयोजक कुमारी वाईबासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश ।
सवालः हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजकका रुपमा जिम्मेवारी सम्हालिरहनुभएको छ । पछिल्लो समय विशेष गरेर हिमराइट्सले के–कस्ता गतिविधिहरुमा आफुलाई सक्रिय बनाउँदै आएको छ ?
जवाफः सर्वप्रथम त प्रश्नको लागि धन्यवाद । हिमराइट्स अर्थात् हिमालयन हिमुराइट्स मोनिटर वा हिमालयन मानव अधिकारकर्मी समूह भनेर चिनिने यस संस्था विगत २३ वर्षदेखि क्रियाशील छ । मानव अधिकार सबैका लागि भन्ने मन्त्रका साथ सक्रिय यस संस्थाले मानव अधिकारको रक्षा, प्रवद्र्धन तथा मानव अधिकार शिक्षाको आम जनमानसमा बृहत जागृति जगाउन अनुसन्धान, अनुगमन र वकालतको माध्ययमबाट राट्रिय तथा अन्तर्राष्ट्रिय एवम् स्थानीय स्तरको अभियानमा काम गर्दै आइरहेको छ ।
विगतका दिनहरुमा विशिष्ट परियोनाहरु मार्फत् सुरक्षित आप्रवासन सम्बन्धि सचेतना, मानव बेचविखनविरुद्धको अभियान, मानव अधिकार तालिम, बाल अधिकार तथा माहिला अधिकार सम्बन्धि तालिमहरु संचालन गर्दै आइरहेको छ ।
त्यस्तै पछिल्लो समय भने जोखिममा परेको समुदायको रक्षा गर्नको लागि सिमान्ताकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम भनेर चेपाङ समुदायका बालबालिकाहरुको लागि पनि काम गरिरहेका छौँ । सन् २०१७ बाट मनहरी र राक्सिराङलाई कार्यक्षेत्र बनाएर चेपाङ बालबालिकाहरुको क्षेत्रमा उल्लेख्य काम गरेका छौँ ।
मकवानपुरमा मानव संरक्षण, मानब बेचविखनविरुद्धको सञ्जाल छ । त्यस संस्थाको म निवर्तमान संयोजक पनि हुँ । उक्त संस्थाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विभिन्न सेवा लिन आउने सर्वसाधारण व्यक्तिहरुलाई विगतका दिनहरुबाट सहयोग गर्दै आइरहेको थियो ।
हामीले विशेषगरी बैदेशिक रोजगारीमा जान लागेकाहरुलाई असुरक्षित नहोस् भन्नका लागि परामर्श तथा अन्य सहयोग गरिरहेको रहेकै छौं । यस्ता कार्यक्रम सञ्चालन गर्न सुरुवाती चरणमा केही कठिन भएपनि हाल भने प्रशासन कार्यालयको समन्वयमा केही सहजता भएको छ ।
हिमराइट्सले मनहरी र राक्सिराङ्का एक सय जना चेपाङ बालबालिकाहरु, जोे आर्थिक समस्याका कारण विद्यालय छाडेर बस्नुपर्ने बाध्यतामा छन्, उनीहरुलाई शैक्षिक सहयोग कार्यक्रममार्फत् विद्यालय शिक्षाबाट बञ्चित हुनुनपर्ने वातावरण सिर्जना गरेका छौँ । उनीहरुलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गर्ने, पाठ्यसामग्री उपलब्ध गराइदिनेलगायतका काम भइरहेको छ ।
अभिभावकहरुलाई आयआर्जन बृद्धि गर्नको लागि पशुपालन अभियानमा जोड्न कुखुरा, बाख्रालगायत वितरण गरिँदै आएको छ । संस्थाकै पहलमा बालबालिकाहरुको मात्रै नभई शैक्षिक संस्थाको स्तरबृद्धि समेत भएको छ । तत्कालिन अवस्थाका आधारभूत विद्यालयहरु अहिले माद्यमिक विद्यालयको रुपमा परिणत भएका छन् ।
संस्थाले राक्सिराङ ३ सरिखेतको श्री सुर्योदय माविका २५ जना र श्री प्रजा जागृति माविका २७ जना बालबालिकालाई सहयोग गरिरहेको छ । मनहरी गाउँपालिका–६, स्थित श्री सगरमाथा आधारभुत विद्यालय, मनहरी ३, हाँडिखोला सिद्धकालीस्थित श्री प्रजा आधारभुत विद्यालयलगायतका विद्यालयहरुमा अध्ययनरत सिमान्तकृत समुदायका बालबालिकाहरु कुनै पनि तरिकाले शिक्षाबाट बन्जित हुन नपरोस्, बालश्रममा नपरुन, बालविवाहको सिकार बन्न कोही पनि नपरोस्, आर्थिक अभावककै कारण
विद्यालय शिक्षबाट बञ्चित हुन कोही पनि नपरोस् भनेर हिमराइट्सले जनस्तरमै पुगेर काम गरिरहेको छ ।
सवालः हिमराइट्सको पहलमा जनहितका क्षेत्रमा भएका प्रभावकारी कामहरुबारे बताइदिनुहोस् न ?
जवाफः सरकारी र गैर–सरकारी संस्था भनेको नङ र मासु भनेजस्तै हो । हामी एकअर्काबीच परिपूरक छौं । हामी कानूनी प्रक्रिया पूरा गरी विभिन्न सरकारी संस्थाहरुसँग समन्वय गरेर काम गरिरहेका हुन्छौँ । संघीयतापूर्व र अहिले हामी सरकारी संयन्त्रसँग समन्वय गरेर मात्रै काम गरिरहेका हुन्छौँ । शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, नागरिक अधिकारको क्षेत्रमा, मानव बेचविखनविरुद्धको अभियानमा, सचेतनाको अभियानलगायत हामीले विभिन्न क्षेत्रमा काम गरिरहेका छौँ । जुन मैले पहिले पनि उल्लेख गरिसकेको छु ।
सवालः यहाँले थुप्रै कामहरु गर्यौँ भन्नुभयो । गैर–सरकारी संघ–संस्थाहरुले जनहितका कामहरु केवल गर्नको लागि मात्रै गरेको जस्तो देखियो, आफ्ना कार्यक्रम प्रभावकारी रुपमा जनस्तरमा पुर्याउने भन्दा पनि विदेशी सहयोग जुटाउनतर्फ बढी ध्यान दिने गरेको भन्ने खालको आरोपहरु पनि लाग्ने गरेका छन् नी ? के हो सत्य हो ? के भन्न चाहानुुहुन्छ ?
जवाफः यो सत्य होइन । सिमान्तकृत समुदायमा ठूलो परिवर्तन भएको छ । यहाँले गैर–सरकारी संस्थाहरुलाई आरोप लाग्ने विषय उठाउनुभयो । हेर्नुहोस् आरोप त सरकारलाई पनि लाग्छ, व्यतिmलाई पनि लाग्छ । हरेक संघ संस्था, व्यतिm, समूहलाई लाग्छ । बाचुन्जेलसम्म यो लाग्ने र लगाउने कुरा त चलिरहन्छ । यो दिन र रात, घाम र पानी जस्तै हो । यस विषयमा म के भन्छु भने आफुले गर्दै आएको काम आफु यही जन्मभूमी, कर्मभूमी र रणभूमीमा नै यही जिल्लामा भएका कारण मैले चाँही जागिर खानेको लागि नुनको सोझा गर्नको लागि होइन, हरदम, हरप्रयासका साथ जनहितका काममा केन्द्रीत भएको छु । मलाई लाग्छ, अन्य संघसंस्थाहरु पनि समाजकै कल्याणका लागि लागिरहनुभएको छ ।
अब हाम्रो मुख्य चाहाना के हो भने, समाज बालश्रम मुक्त बनोस् । मानव वेचविखन नहोस् । शिक्षा, स्वास्थ्यमा सबैको पहुँच स्थापित होस् । बाल अधिकारको सुनिश्चितता होस् । अपाङगता भएका व्यक्तिहरुले राहत महसुस गर्न पाउन । लैंगिक तथा अल्पसंख्यक यी सबै विषयमा सरकारले एउटा विकासको मूलधार जस्तै गरेर ती सवालहरुलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ । हामीले विगतका दिनहरुमा र अहिले पनि यीनै विषयमा काम गरिरहेका छौँ । तर पनि हाम्रो व्यक्तिगत जीवन छ । सामाजिक अभियानलाई संगसँगै अघि बढाउन चुनौती पनि उत्तीकै हुन्छ । सामाजिक, आर्थिक कुराहरु पनि जोडिएका हुन्छन् । त्यो सबैलाई व्यवस्थापन गरेर काम गरिरहेका छौँ । मैले गैर–सरकारी संस्था महासंघ जिल्ला शाखाको उपाध्यक्ष हुँदा पनि दिनरात नभनी काम गरेँ । हामीले जागिरका रुपमा भन्दा पनि सेवाको रुपमा आफ्नो कर्मलाई हेर्नुपर्छ भन्ने लाग्छ । नागरिकहरु पनि अब सचेत हुनुपर्छ ।
हामी सामाजिक अभियान्ताको रुपमा निरन्तर सक्रिय छौँ । व्यक्तिगत क्षमताको आधारमा सामाजिक अभियानमा निरन्तर काम गर्ने मैले प्रण गरेको छु । हामी एनजीओ आइएनजीओको सहयोगमा जनताको रोजीरोटी मात्रै भन्दा पनि विभिन्न सरकारी निकायसँग समन्वय गरी जनताको समस्या न्यूनिकरण गर्नका
समुदायको हरेक क्षेत्रको विकास लागि जिल्लाका सरोकारवालाहरु र संस्थाहरु सबै मिलेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।
सवालः सामाजिक कार्यमा यहाँको उपस्थिति कहिलेबाट रह्यो ? र, गैरसरकारी संस्थामार्फत् सामाजिक कार्यको नेतृत्व सम्हाल्दा के–कस्ता चुनौतीहरुको सामना गर्नुपर्ने रहेछ ?
जवाफः सानैदेखि समाजको सेवामा सक्रिय रहन मन लाग्थ्यो । म ११, १२ पढ्ने बेलामा (२०५९/०६०) मा पढ्नेबेला सुशासन तथा विकास प्रतिष्ठान भन्ने एउटा संस्था थियो । त्यही संस्थाले नेतृत्व विकास र सशक्तिकरणको पाटोमा ८ दिवसीय प्रशिक्षण तथा प्रशिक्षक तालिम संचालन गरेको थियो । उक्त तालिम अहिलेको जस्तो सजिलै प्राप्त गर्न सक्ने अवस्था पनि थिएन ।
यस्ता कामहरु गर्न र तालिम लिन त्यतिखेर धेरै कठिन थियो । आफैँले आफैँलाई पनि सुधार गर्नुपर्याे भने १ महिनासम्म त्यतिखेरको विगट ठाउँ राक्सिराङ, सरिखेत, भार्ता, कालिकाटार, आग्रा, गोगने, डाँडाखर्क गाविसलगायतका क्षेत्रमा हामी २६ जना समूह समूह बनाएर गाउँगाउँमा पुगेर गरेको काम अझै सम्झना आउँछ । त्यसपछि मात्रै तालिमको प्रमाणपत्र पाएका थियौँ ।
अहिले जस्तो प्रविधिको विकास पनि भइसकेको थिएन । एनजीओमा जागिर आएर डलर पचाए भन्ने खालको आरोप पनि सहेर आइयो । तर, आफ्नो कर्मबाट हामी विचलित भएनौँ ।
द्वन्द्वकालकै बेलादेखि निरन्तर कर्ममा अगाडि बढेका छौँ । र त्यतिखेर सबै कुराहरु दुई पक्षकै चपेटामा थियो । त्यतिखेर अहिले जस्तो कम्प्युटर, ल्यापटप, प्रोजेक्टरहरुबाट केही लेख्न मिल्ने अवस्था थिएन । जनतालाई बुझाउनको लागि हामीले रातभरी टुकीबत्ति बालेर हातले लेखेर तयार पार्थौं । समय पनि त्यस्तै थियो । त्यस्ता चुनौतीहरु भोगेर पनि मलाई यो क्षेत्र अहिलेसम्म छोड्न मन भने लागेन र अन्तिम समयसम्म पनि गरिरहनेछु ।
एउटा प्रोजेक्ट मात्र नभइ समाजिक क्षेत्रको विकासमा सबै मिलेर अगाडि बढ्नुपर्ने देखिन्छ । अन्य क्षेत्रमा हेरी बागमती प्रदेशमा सामाजिक क्षेत्रमा भनेको जस्तो कार्यक्रमहरु अलि कम रहेको छ । हामी स्थानीय सरकारहरुसंग समन्वय गरेर विभिन्न किसिमका कामहरु गर्न पहल गरिरहेका छौँ ।
सवालः यहाँहरुले विभिन्न तहका सरकार, अन्य क्षेत्र, राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्रसँग सहकार्य गर्ने गर्नुभएको छ कि छैन ? राज्यको तर्फबाट के–कस्तो सहयोग भयो भने काम गर्न सहज हुन्थ्यो भन्ने लाग्छ ?
जवाफः अब केन्द्रिय सरकारसँग हाम्रो केन्द्रीय कार्यालयबाट नै पहल भइरहेको छ । केन्द्रीय स्तरको कार्यक्रमहरु केन्द्रीय कार्यालयबाटै हुन्छ । हामीले अन्य संघसंस्थाहरु सँग पनि सहकार्य गरिनैरहेका छौँ ।
महिला अधिकारकै क्षेत्रमा हिमराइट्सकै अध्यक्ष अन्जना शाक्यले १९९५ मा चाइनामा भएको बेजिइङ सम्मेलनबाट नेपाल आउनुभएर बेजिइङ जानुभएको महिलाहरुद्वारा नै बेयोन बेइजिङ कमिटी गठन गरेर महिलावादी संस्था गठन गरेर महिला अधिकारको क्षेत्रमा, यौन प्रजनन्, स्वास्थ्य अधिकार क्षेत्रमा र महिलाहरुको नेतृत्व र महिला सशक्तिकरणको क्षेत्रमा वकालतीय अभियान गर्दै आएको छ । हामी स्थानीय तथा राष्ट्रिय सञ्जालसम्मका संयन्त्रमा क्रियाशील छौँ ।
हामी सानो–सानो कार्यक्रमहरु लिएर गाउँगाउँ पुगिरहेका छौँ । गाउँका नागरिकहरु तुलनात्मक रुपमा जानकारीका हिसाबले कमजोर छन् । त्यसकारण स्थानीय, प्रदेश, संघीय सरकारसँग हामी सबैले सहाकार्य गर्नुपर्छ ।
अहिले भखरै १४४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा के लाग्छ भने जबसम्म महिला सशक्तिकरण को लागि महिला निर्णयक तहमा पुग्नको लागि पुरुषको महत्वपूर्ण भूमिका रहँदैन तबसम्म महिलाले सशक्तिकरणको नारा नारामा नै सिमित रहन्छ । त्यसकारण पनि पुरुषको भूमिका महत्वपूर्ण छ ।
सुरक्षित बैदेशिक रोजगारीका लागि पनि काम गरिरहेका छौँ । हामीले विदेशजानुपूर्व उहाँहरुलाई परामर्श गर्ने, कतिपय अवस्थामा सबै कुरा नबुझी विदेश गएर समस्यामा परेकाहरुलाई उद्धार गर्न मद्धत गर्ने गरिरहेका छौँ । हामीले जतिपनि काम गरिरहेका छौँ, ती सबै गर्दा सबै क्षेत्रसँग सहकार्य भइरहेकै छ । तर, यो पर्याप्त छैन । सबै क्षेत्रको सहयोग अझै भइदिए हामीले चाहेजस्तै गर्न सक्थ्यौँ ।
सवालः आगामी योजनाहरु के–के छन् ?
जवाफः मानव अधिकार प्रवद्र्धन तथा संरक्षणकै क्षेत्रमा हामी क्रियाशील छौँ, रहन्छौँ । हाम्रो केन्द्रको अध्यक्षले पनि द्वन्द्व व्यवस्थापन विषयमा युएसमा अध्ययन गर्नुभएको हो । त्यसकारण पनि उहाँ मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ । हामीलाई पनि प्रेरणा प्राप्त भइरहेको छ ।
अहिले हामीले एक सय जना बालबालिकाहरु टार्गेटमा राखेका छौं । हामीले समग्रमा उनीहरुलाई कक्षा १२ सम्म अध्ययनमा सहयोग गर्ने योजना बनाएका छौं । अहिले हामीले एक जनालाई कक्षा १२ उर्तीण गराएका छौँ । उहाँहरुलाई स्थानीय सरकारसँग हुन्छ अथवा कहाँ हुन्छ समन्वय गरेर रोजगारीमा आवद्ध गराउने पनि गरिरहेका छौँ । त्यसभन्दा मुनिका बालबलिकाहरुलाई १२ कक्षासम्म पहिला अध्ययनको प्रबन्ध मिलाउने र सक्षम बनाइसकेपछि मात्र रोजगारीको सिलसिलामा अन्य विभिन्न संघ–सस्थाहरुसंग जोडदिने, स्थानीय सरकारसंग जोड्दिएर रोजगारीको व्यवस्था वा त्यो भन्दामाथि पढ्न चाहानुहुन्छ भने पनि त्यो सहयोग गर्न एउटा पुलको भूमिका निर्वाह गर्ने हाम्रो योजना छ ।
अहिलेलाई यही नै योजना छ । र जिल्लास्थित तथा राष्ट्रिय स्तरमा चलिरहने सबालहरु यो मानब अधिकार, मानब बेचविखन विरुद्धको सवालहरु, बालश्रम शोषण विरुद्ध, महिला हिंसा विरुद्ध, लैगिक हिंसा विरुद्ध हरेक नागरिकले पाउनुपर्ने हक अधिकारको क्षेत्रमा हामी क्रियाकलापमा नै रहिरहनेछौं । मैले अघि पनि भनेँ म व्यक्तिगत र संस्थागत नेतृत्वका हिसाबले सक्रिय रहनेछु । परियोजना रहुन्जेल संस्थागत रुपमा, परियोजना नरहेपनि व्यक्तिगत तरिकाले यी विषयहरुमा मेरो सक्रियता रहनेछ ।
सवालः अन्त्यमा के भन्न चहानुहुन्छ ?
जवाफः मैले अवसरका, विकासका र सहज पक्षका कुराहरु मात्रै गरिरहेको छैन, यसबीचमा चुनौतीहरु पनि आउँछन् । जुन राजनीतिक अस्थिरताको कारणले पनि काम गरिरहँदा असर परिरहेको हुन्छ ।
विभिन्न समस्याहरु समाधान गर्ने क्रममा एउटा केस मात्र लिएर जाँदा जिल्ला प्रहरी, न्यायिक क्षेत्रमा समस्याहरु परिरहेका हुन्छन् । राजनीतिक संरक्षणका कुराहरु आउँछन् । हरेक केस व्यवस्थापन गर्नमा राजनीतिक हस्तक्षेप हुन्छ । अझै मानव बेचविखनको घटनाहरुमा पीडकलाई अलि संरक्षण गर्ने, पीडितको जाहेरी नै लिन नमान्ने अवस्था पनि हामीले भोगेका छौँ । यी निकै ठूला चुनौतीका रुपमा छन् । संस्थागत रुपमा भन्नुपर्दा परियोजनाहरुमा सँधै भरी अनवरत रुपमा पैसाहरु आउँदैन । त्यो बेलामा हामीले लभान्वित समुदायलाई भन्न नसक्ने अवस्था पनि हुन्छ । त्यस्तो बेलामा स्थानीय सरकारसँग मिलेर जाने प्रयास रहन्छ ।
सबै मिलेर समाज बनाउने हो । चुनौती झेल्दै अघि बढ्ने हो । हामी हाम्रो तर्फबाट निरन्तर प्रयास गरिरहन्छौँ । तपाईँ सबैको सहयोग हामीलाई आवश्यक छ । अन्तर्वार्तामार्फत् हिमराइट्सका गतिविधि जनतासम्म पुर्याउने अवसर दिनुभयो । तु खबरप्रति आभार व्यक्त गर्दछु ।