हेटौंडामा आयोजित महिला उद्यमी प्रदर्शनी सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सम्पन्न भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा गत चैत्र २ गते शुक्रबारबाट सुरु भएको उक्त प्रदर्शनी मंगलबार सम्पन्न गरिएको हो ।
११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता” भन्ने नाराका साथ आयोजना गरेको उक्त प्रदर्शनी हेटौंडा–२ स्थित पल्पसामा भएको हो ।
प्रदर्शनीको बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी थिइन् भने समापन कार्यक्रम संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रदर्शनीमा मकवानपुर, सिन्धुली, चितवन, काठमाडौं, नुवाकोट, ईटहरी लगायतका जिल्लाका महिला उद्यमीहरुको ४५ वटा घरेलु उत्पादनका सामग्रीहरुको स्टल रहेको थियो ।
प्रदर्शनी अवधीमा महिला उद्यमीहरुको वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, कृषि उपजहरुको प्रदर्शनी तथा बिक्री, स्थानीय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक प्रस्तुति, महिला उद्यमीहरुको सफलताको कथा प्रस्तुति, महिला उद्यमशीलता लगायतका विषयमा प्यानल छलफल, कृषि सम्बन्धी खुल्ला अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
यस्तै, सो क्रममा मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी समितिले प्रकाशन गरेको स्मारीका समेत बिमोचन गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाल, महिला उद्यमी समितिका सभापती अंकिता सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अरुणराज सुमार्गी, प्रदर्शन कर्ता नुरानी ढुङ्गेल लगायतको आतिथ्यता रहेको थियो ।