आज राष्ट्रिय सभाको बैठक पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठक सवा ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्नेछन् ।
अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।