‘अनेरास्ववियु मकवानपुर थप एकतावद्ध भएर अघि बढ्छ’

तु खबर संवाददाता
२०८० चैत्र ७,बुधबार १५:०२
अमृत बर्तौलाः अध्यक्ष, अनेरास्ववियु मकवानपुर

सवालः हालै सम्पन्न २८ औँ अधिवेशनबाट अनेरास्ववियु मकवानपुरको नेतृत्व सम्हाल्नुभएको छ । अधिवेशनका क्रममा केही मनहरु टुटेको, दुखेको पनि देखियो । संगठनलाई एकतावद्ध बनाएर लैजानुपर्ने ठूलो चुनौती पनि तपाईँको काँधमा आएको छ । के गरिरहनुभएको छ ?

जवाफः धन्यवाद, यो विषयमा मलाई बोल्न मन लागेको थियो । अधिवेशन एउटा प्रतिस्पर्धा हो । विवाद भएको, मन दुखेको, टुटेको भन्ने कुरा बाहिर आयो । तर, वास्तविकता त्यस्तो होइन । मेरो मित्र उहाँ स्वास्थ्य समस्याका कारण ढल्नुभयो । अधिवेशनपश्चात् पनि मैले उहाँलाई भेटेर संगठनलाई मजबुद बनाउने विषयमा कुराकानी गरेको छु । हामीबीच त्यस्तो विवाद केही छैन । हामी हासेर कुरा गरिरहेका छौँ । अधिवेशनमा उम्मेदवार धेरै हुनु स्वभाविक विषय हो । त्यसमाथि शक्तिशाली र गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी संगठन अनेरास्ववियुमा ।

अब अधिवेशनमा केही साथीहरु छुट्नु भएको विषय सत्य हो । सम्मेलनमामा जहिले पनि अवस्था सिर्जना भएकै हुन्छ । तर, म नेतृत्वमा आएपछि अब सबैलाई मिलाएर लैजाने प्रयास गरिरहेकै छु । साथीहरुसँग मन भाँचिने, टुट्ने अवस्था हुँदैन । यो संगठनको अभियानको क्रम हो । सबैलाई मिलाएर लैजानको लागि सबैसँग छलफल भइरहेकै छ ।

सवालः शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु छन् । गुनासाहरु जताततै सुनिन्छन् । तपाईँहरुले चाँही पहिचान गरेका मुख्य–मुख्य समस्या के–के हुन् ?, त्यसको समाधान कसरी गर्न सकिन्छ ?

जवाफः विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धीलाई लागू गर्न पटक–पटक आन्दोलन गर्नुपर्ने अवस्था छ । यो मुख्य समस्या हो । प्राप्त उपलब्धी संस्थागत हुनुपर्ने हो । सबैले लागुपर्ने हो । त्यो भइरहेको छैन । कि अगाडि नै बहस गर्ने आन्दोलन गर्ने कुरा स्वभाविक रहन्छ तर हुन्छ भनिसकेपछि पनि पटक–पटक लागु गर्न अप्ठ्यारो भएको सन्दर्भ नै समस्याको जड हो ।

अर्को चाँही निःशुल्क शिक्षाका कुराः आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनबाट बञ्चित हुनुपर्ने अवस्था छ । नीजि होस् या सामूदायिक विद्यालय होस् बालबालिकाले पढ्न पाउने कुरालाई हामीले एकदमै ध्यान दिएका छौँ ।

अहिले झन आर्थिक मन्दीका कारण फि तिर्न नसक्दा नीजि विद्यालयको सन्दर्भमा भर्ना हुने क्रम घटेको छ । तर, नीजि विद्यालयका अभिभावकहरु पीडा परेको कुरा पनि सत्य हो । बालमैत्री विद्यालयको कुरा गरेर कार्यक्रमको निम्ति कार्यक्रम गर्ने चलन छ । हामीले ती कुरालाई पनि गहन रुपमा हेरेका छौँ । बालमैत्री हुनको लागि आवश्यक मापदण्ड के– के हो ? रिजल्ट मात्रै राम्रो आएर त्यहाँ समस्यामा परेका विद्यार्थीहरु धेरै छन् भने त्यो कसरी बालमैत्री हुनसक्छ ?

पाठ्यपुस्तकका कुराहरु पटक–पटक परिवर्तन हुने विषयले पनि समस्या भएको छ । परीक्षा समयमा नै हुँदैन । यसको उदाहरण त हामी भर्खरै टीयूको तालिका हेरौँ न, त्यसकारण अनेरास्ववियुले समस्या पहिचान गरेको छ । समाधानको लागि हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराइरहेका छौँ ।

सवालः तपाईँले बालमैत्री विद्यालयको सवाल उठाउनुभयो । मकवानपुरका केही नीजि र सामूदायिक विद्यालयहरुले पनि बालमैत्री विद्यालय घोषणा गरेका छन् । तपाईँहरुको बुझाईमा ती विद्यालयहरु बालमैत्री छन् त ?

जवाफः अनेरास्ववियुले मकवानपुरमा भर्खरै बालमैत्री घोषणा भएका विद्यालयहरु बालमैत्री छैनन् नै भन्छ । बसमा विद्यार्थी कोचाकोच बोकेको हामीले देखेका छौँ । हजारौँ विद्यार्थी भएको विद्यालयमा खेलमैदान पर्याप्त छैन । समयमा परीक्षा हुँदैन । पुस्तकको भारी बोकेर बालबालिका विद्यालय गइरहेका छन् । अभिभावकले फि तिर्न नसकेर अध्यारो मुख लगाएको देखेका बालबालिका मन भारी बनाएर विद्यालय गइरहेका छन् । यी सबै विषय बस्तुलाई अध्ययन गर्दा कसरी बालमैत्री विद्यालय भन्न मिल्छ ?

एउटै कक्षाको प्रमाणपत्र लिन कुनै विद्यालयमा ५ सय र कुनैमा ५ हजार रुपैयाँ लाग्छ । यहाँ किन विभेद छ ?, हामीले आवाज उठाइरहेका छौँ । बालमैत्री विद्यालय घोषणा गर्न हतार गर्ने भन्दा पनि त्यो बाटोतर्फ अघि बढ्नुचाँही महत्वपूर्ण हो ।

सवालः शिक्षा सबैका लागि भन्ने नारा, नारामा नै सिमित छ । रोजगारीका लागि सहज हुनेखालको शिक्षाको अवधारणा हामीले विकास गर्नै सकेनौँ । शिक्षा सेवामुखी हुनुपर्नेमा व्यापारमुखी भइरहेको छ, कुनै एउटा व्यक्तिको नियन्त्रणमा छ । यी समस्याहरु तपाईँहरुले देख्नुभएको छैन ?

जवाफः तपाईँले धेरै गहन विषय उठान गर्नुभयो । म अनेरास्ववियुको नेतृत्वमा आइसकेपछि मैले विभिन्न ठाउँमा ध्यानाकर्षण गराउने गरी तयारी गरिरहेको छु । स्थानीय सरकारको शिक्षा विभाग तथा विभिन्न शिक्षा क्षेत्रमा हामीले ध्यानाकर्षण गराउने नीतिका साथ अगाडि बढिरहेका छौँ । धेरै गाउँगाउँका सामुदायिक विद्यालयमा पनि बसको सुविधा पुगेको पनि छ । यो सकारात्मक पक्ष हो । हामी यसको सम्मान पनि गर्छौँ । शिक्षा सेवामुखी हुनुपर्छ । जब शिक्षामा व्यापार हुन्छ, तब शिक्षाको मर्म मर्छ । त्यसकारण यो समाजमा शिक्षामा वर्ग के आधारले छुट्याइने हो ? वर्ग किन छुट्याइँदै छ ? जुनसुकै विद्यालयमा एउटै कक्षा पठ्न कतै महंगो कतै सस्तो किन हुन्छ ? पाठ्यपुस्तक पनि त्यही, विषयबस्तु पनि त्यही, पढाउने अवधि पनि उही । तर, किन तलमाथि छ ? हो, सेवाको आधारमा अलिकति तलमाथि हुने कुरा स्वभाविक रहला । तर, अहिले विद्यालयको गतिविधि सन्तोषजनक छ त ? हामी आवाज उठाउँछौँ ।

सवालः विद्यार्थी संगठनहरु राजनीतिक गतिविधिमा बढी सक्रिय भएको देखिन्छ । अझ भनौँ राजनीतिक दलले आफु प्रतिपक्षमा पुगेपछि विद्यार्थी संगठनलाई सरकारविरुद्ध नाराजुलुस, ढुंगामुढा गर्न लगाइएको देखिन्छ । शिक्षा र विद्यार्थीको मुद्धा अलपत्र पारेर तपाईँहरु किन अन्तै दौडिएको ?

जवाफः अनेरास्ववियु असम्बन्धित विषयमा दौडिएको छैन । यो प्रष्ट हुन जरुरी छ । हामी हामीले आस्था राखेको पार्टी सरकारमा हुँदा वा नहुँदा जुनसुकै अवस्थामा खबरदारी वा रचनात्मक आन्दोलन गरिरहेका छौँ । विद्यार्थीमाँझ हामी त्यसैले पनि लोकप्रिय भएका हौँ । विद्यार्थीको माग सम्बोधन गर्नु हाम्रो प्रमुख दायित्व हो । तपाईँले भनेजस्तै अन्य आन्दोलनहरु जस्तै सीमा मिचिएको सवालमा होस्, नाकाबन्दीको सवालमा होस् यी विषयहरु राष्ट्रको गरिमासँग जोडिएका कारण केही त्यस्ता विषयमा पनि हामीले आवाज उठाएको सत्य हो । तर, पुस्तकालय व्यवस्थापनको सवालमा होस्, चाहे विद्यार्थीले सहुलियत दरमा पढ्न पाउनुपर्छ भन्ने विषयमा होस् । हाम्रो ध्यान त्यहीँ केन्द्रीत छ ।

आज ४५ प्रतिशत भाडा छुट, १० प्रतिशत हरेक क्षेत्रमा छात्रवृत्तिको विषय हामीले नै उठाएका हौँ । यी सबै विषय कार्यान्वयनको लागि फेरी लडिरहेकै । हाम्रो पार्टी सरकारमा जान्छ कि जादैँन भन्ने विषयमा हामी चासो राख्दैनौँ । केवल विद्यार्थीको हतहितका काममा अनवरत लागिरहेका छौँ । हामी विद्यार्थी भन्दा बाहिर छैनौँ ।

सवालः शैक्षिक गुणस्तर वृद्धिका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको छैन ? तपाईँको नेतृत्वमा गरिने चरणवद्ध कार्यक्रमहरु तय भएको छ की छैन ?

जवाफः अनेरास्ववियुले सामुदायिक र नीजि विद्यालयले गर्नुपर्ने रचनात्मक र सिर्जनात्मक कार्यक्रममा सहयोग समन्वय गर्दै आएको छ । जुनसुकै संगठनमा आवद्ध भएर विद्यार्थीले राजनीतिमा होमिनुपर्छ भन्दै राजनीतिक चेतना जगाउने काम गरिरहेका छौँ । पुस्तकभन्दा बाहिर पनि विद्यार्थी हुनुपर्छ, पुस्तक बाहिरको सन्सार पनि विद्यार्थीले बुझ्नुपर्छ । सही बुझाइबाटै देशलाई समृद्धितर्फ लैजान सकिन्छ । रोजगार मुलुक शिक्षाको लागि केन्द्रीय कमिटीले यी विषयमा मन्त्रालयमा नै गएर हाम्रा शिक्षा सुधारका आधारहरु यी यी हुन् भनेर पेश गरेको छ ।

केन्द्रसँग समन्वय गरेरै हामीले काम गरिरहेका हुन्छौँ । हामी विद्यार्थीसँग मात्रै होइन, प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर शैक्षिक गुणस्तर वृद्धिको विषयमा अन्तरक्रिया गर्ने तयारीमा छौँ ।

चरणवद्ध कार्यक्रमको विषयमा त्यो केन्द्रीय कमिटिले पनि तयार पारिसकेको हुनाले हामीले केन्द्रसँगै समन्वय गरेर काम गरिरहेका छौँ । हाम्रो जिल्लाको सन्दर्भमा मैले घाँटी हेरेर हाड निल्नुपर्छ भनेजस्तै मकवानपुरमा विद्यार्थीहरुले पढ्न पाउनुपर्छ । विद्यार्थीको हक अधिकारको संरक्षण हुनुपर्छ । विद्यालयमा परेका अप्ठेरोमा आवाज उठाउनुपर्छ । हामी यी विषयहरुमा गम्भीर छौँ । स्थानीय सरकारले प्रदान गर्ने छात्रवृत्ति पारदर्शी र निश्पक्ष हुनुपर्छ । हामी खबरदारी गरिरहनेछौँ ।

समन्वय हामीले मात्रै गरेर हुँदैन । स्थानीय सरकार र शिक्षासँग सम्बन्धित विभिन्न निकायले विद्यार्थी संगठनलाई उपेक्षा गर्दै आएको छ ।
शैक्षिक गुणस्तरको अभियान चलाँदा विद्यार्थी संगठनलाई सम्झिन के आपत्ती छ र ?, विषयबस्तु फोरममा राख्न किन अप्ठेरो भएको हो ? हामीले विभिन्न गाउँपालिकामा गएर बस माग गर्यौँ । बस प्राप्त भयो । विद्यार्थीलाई आउन जान सहज भएको छ । छात्रवृत्ति प्रत्येक गाउँपालिकाले नगरले दिने कुरा छ । कमसेकम पढ्ने व्यवस्थापन त भइरहेको छ नी, विद्यार्थी संगठनका केही कमिकमजोरी छन् भने फोरममा आएपछि त्यहाँ विषय निस्किन्छ । सच्याउनुपर्ने विषय रहेछन् भने हामी पनि तयार हुनुपर्छ । विद्यालयले सुधार गर्नुपर्ने भए विद्यालय तयार हुनुपर्छ । साझा बहसको सुरुवात हामी आफैँ गरेर साझा बसको संस्कृति विकास गर्न चाहान्छौँ ।

सवालः विगतको अनेरास्ववियु र अमृत बर्तौला नेतृत्वको अनेरास्ववियुबीच विद्यार्थीहरुले फरकपन अनुभूति गर्न पाउँछन् ?

जवाफः अनेरास्ववियुबाट प्राप्त उपलब्धीहरु त विद्यार्थीहरुले अनुभव गरिरहेकै छन् । मात्र नेतृत्वको सन्दर्भमा कुरा गर्दा नेतृत्व भनेको यस्तो हुनुपर्छ, जतिखेर पनि हामीलाई पर्दा उपस्थित हुनुपर्यो । विद्यार्थीसँग सम्बन्धित हरेक विषयमा आइपुग्नुपर्यो । हरेक ठाउँमा बोलाउँदै गर्दा अनेरास्ववियुको जिल्ला कमिटी त्यो ठाउँमा पुगेको हुन्छ । त्यसको सहज समाधान निकालेको हुन्छ । त्यो निकाल्नको लागि विद्यार्थीसँग सहजै भेट्ने अवस्था मेरो नेतेृत्वमा रहन्छ । र, मुख्य मुख्य विषयहरुमा, विद्यार्थीहरुलाई परेको अप्ठेरोहरुमा हामी गएर सम्बन्धित निकायमा बोलेकै कारणले ती बोलेका कुराहरु पूरा भएकै हेरेर यो नेतृत्वबाट यो जिल्ला कमिटीबाट अनेरास्ववियुबाट खुसी हुने वातावरण मेरो नेतृत्वमा हुन्छ । रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गर्ने तयारीमा हामी छौँ । विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि हामी अहोरात्र लागिपर्ने छौँ ।

सवालः अन्तरवार्ताको अन्त्यमा तपाईँ थप केही भन्न चाहानुहुन्छ कि ?

जवाफः अनेरास्ववियुले हरेक ठाउँमा हरेक क्षेत्रबाट अब एउटा खालको आन्दोलन उठाउन जरुरी छ । चाहे त्यो, नीजि वा सार्वजनिक विद्यालयमा अनियन्त्रित शुल्कको विषयमा होस्, चाहे अनियन्त्रित पाठ्यपुस्तक परिवर्तनको विषयमा होस्, चाहे बसमा खचाखच विद्यार्थी राख्ने विषयमा होस्, चाहे कार्य गरेको भनेर त्यसको गुणस्तर नभएको आधारमा होस्, अनेरास्ववियुले ध्यानाकर्षण गराउँछ । मेरो नेतृत्वमा आवाज उठ्छ । हामीले मान्नुपर्ने ठाउँमा कुनै पनि कसर बाँकी नराखी मान्छौँ । सहयोग गर्न तयार छौँ । सामूदायिक विद्यालयहरुमा गुणस्तरीयता वृद्धि गर्न के गर्न सकिन्छ भनेर बहस चलाउँछौँ । शुल्कका विषयमा आवाज उठाउँछौँ । नीजि विद्यालयमा भएका अप्ठ्यारा विषयमा आवाज उठाउँछौँ । भर्खरै पनि मलाई एउटा विषय आइरहेको छ, १० कक्षालाई स्वागत सम्मान गर्ने भन्दै ९ कक्षासँग पुन अर्को शुल्क उठाउने कार्य भइरहेको भनेर, अब विभिन्न बाहाना वा नाममा पैसा उठाउने कार्य बन्द हुनुपर्छ ।

हरेक ठाउँमा हामी कमिटी विस्तार पनि गर्दैछौँ । कमिटी निर्माण भनेको त्यहाँको नेतृत्व हो । त्यहाँको विषयबस्तुको आवाज उठाओस् र उ त्यहीँबाट अघि बढोस्, शैक्षिक संस्था उत्कृष्ट बनान सहयोग गरोस् भन्ने हेतुले हामी लागिपरेका छौँ । त्यही अनुसार सम्मान गर्ने ठाउँमा सम्मान र आन्दोलन पनि सकारात्मक र सिर्जनात्मक गर्दै हामी अघि बढ्छौँ । तु खबर निश्पक्ष पत्रकारिताको अभियानमा छ । सबैको आवाजहरु यहाँहरुले सम्प्रेषित गरिरहनुभएको हुन्छ । आज अनेरास्ववियु मकवानपुरले त्यो अवसर पाएको छ । तु खबर परिवारप्रति अत्यन्तै आभारी छु ।