आजबाट हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य बन्द

तु खबर संवाददाता
२०८० चैत्र ७,बुधबार १७:२६
file-photo

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य बन्द भएको छ । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणहरुको तत्काल मर्मत, सम्हार गर्नुपर्ने भएकोले सिमेन्टको उत्पादन कार्य बन्द गरेको जनाएको छ ।

सो उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले २ हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही उपकरण मेसिनहरुको मर्मत सम्हार गरेर पुनः सिमेन्टको उत्पादन कार्य सुरु गर्ने जानकारी दिए ।

सो उद्योगमा हालसम्म करिब सवा ३ लाख बोरा सिमेन्टको उत्पादन गरेर मौजात रहेको र ती सिमेन्टहरुलाई काठमाडौंसहित अन्य शहरहरुमा पर्याप्त मात्रामा खपत गराउन उद्योगबाट प्राविधिकहरु खटिसकिएको उनले बताए ।

यस्तै, उद्योगमा अहिले एक हजार ६ सय मेट्रिकटन कोइला मौजात राखिएको र अन्य थप कोइला ल्याउन उद्योगले बोलपत्र आह्वान गरिसकिएको बताए ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायीक रुपमा उत्पादन सुरु गरिँदै आएको छ ।

उद्योगमा हाल २५० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरिरहेका छन् ।