प्रतिनिधि सभाको शिक्षा समिति सभापतिमा थापा
![](https://www.tukhabar.com/wp-content/uploads/2024/03/amar_thapa.webp)
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार साँझ सिंहदरबारस्थित समितिमा राखिएको सभापतिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका सांसद थापाको मात्र उम्मेदवारी परेको थियो ।
उनको उम्मेदवारीमा थापाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका थिए । उक्त पदका लागि अन्य कुनै पनि मनोनयन दर्ता नभएकोले थापा निर्विरोध निर्वाचित भएको समितिकी सचिव निर्मलादेवी लामिछानेले बताइन् ।
समिति सभापति थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए ।
जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो ।