हाजिरी जमानतमा रिहा भए पूर्वसभामुख महरा
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न अनुमति दिएपछि उनी रिहा भएका हुन् ।
सीआइबीले उक्त प्रकरणमा गत चैत्र ५ गते कपिलवस्तुबाट महरालाई पक्राउ गरेर काठमाडौं लगिएको थियो ।
अदालतमा म्याद थप गर्न हाजिर भएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।
सरकारी वकिल मार्फत् प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।
अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमति सम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या देखिएको र सो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने सन्दर्भमा रिहा गरिएको जनाइएको छ ।