मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दो

तु खबर संवाददाता
२०८० चैत्र १०,शनिबार १५:०४

मकवानपुर । मकवानपुर जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्दै गएको छ । जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा भाइरल ज्वरोका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार, जिल्लाको विभिन्न पालिकामा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेको कार्यालयका सूचना अधिकारी घिमिरेले बताए ।

उनले ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौंडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको पनि बताए ।

हेटौंडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका र ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिरहेको अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाले जानकारी दिए ।