अन्तर प्रदेश राष्ट्रिय खेलकुदः चितवनमा उद्घाटन, हेटौंडामा समापन
हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रथम अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
यही चैत २५ गतेबाट हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा भएको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा हुने सो प्रतियोगिताको उद्घाटन २५ गते बेलुका ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) गर्ने कार्यसूची रहेको बागमती प्रदेश बोर्ड सदस्य धनकुमार (अभिलाष) मैनालीले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटनमा सातवटै प्रदेशका मुख्यमन्त्री, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलगायतको सहभागिता रहने उनले बताए ।
उनका अनुसार, विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडीले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा बक्सिङ, कराते, तेक्वान्दो, भलिबल, फुट्बल, ब्याड्मिन्टन, क्रिकेट, पौडी र एथलेटिक्स गरी ९ विधामा प्रतिस्पर्धा हुने उनको भनाई छ ।
प्रतियोगिताको उद्घाटन लगायत सम्पूर्ण खेल चितवनमा र पुरुष फुटबल तथा समापन कार्यक्रम मकवानपुरमा हुने बागमती प्रदेश खेलकुद विकास परिषद् कार्यालयले जनाएको छ ।