पर्यटन बोर्ड सदस्यका लागि पाँच जनाको नाम सिफारिस

तु खबर संवाददाता
२०८० चैत्र १४,बुधबार १६:२४

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) का सदस्यका लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले बोर्ड सदस्यमा रिक्त तीन पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।

सिफरिस समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौं), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषि भण्डारी (कास्की) र धादिङका राम प्रसाद सापकोटा (कमल) लाई अन्तिम ५ जनामा छनोट गरेको हो ।

उनीहरुको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । रिक्त तीन जना बोर्ड सदस्यका लागि २३ जना व्यवसायीहरूले आवेदन दिएका थिए ।

गत माघ २२ गते आफ्नो ३ वर्षे कार्यकाल पूरा गर्दै उपाध्यक्ष समेत रहेका चन्द्र रिजाल र सदस्यद्वय क्रमशः कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट बाहिरिएसँगै पर्यटन बोर्डमा तीन जना सदस्यको पद रिक्त रहेको थियो ।