सुनकोशीमा बेपत्ता भएकामध्ये दुई बालकको शव भेटियो

तु खबर संवाददाता
२०८० चैत्र १४,बुधबार १७:४१

उदयपुर । उदयपुरस्थित सुनकोशी नदीमा बेपत्ता भएका बालबालिकामध्ये दुई जना मृत अवस्थामा भेटिएका छन् ।

त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित धाप्लाङमा गत आइतबार होली खेलेर पौडी खेल्न गएका तीन जना बालबालिकामध्ये दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बेपत्ता भएको स्थानबाट अन्दाजी एक÷दुई किलोमिटर तल १२ वर्षीया रेखा मगरको शव भेटिएको हो । उनको शव बुधबार बिहान साढे ६ बजेको समयमा सिम्ले दुर्गे ढुंगा भन्ने ठाउँमा ढुंगामा च्यापिएको अवस्थामा भेटिएको हो ।

यस्तै, यसअघि मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला परेको थियो । उनीहरूको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल उदयपुरमा पठाइएको जनाइएको छ ।

१२ वर्षीय लोकबहादुर मगर भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।