हेटौंडामा हुने निर्माण व्यवसायीको साधारणसभाको तयारी पूरा

तु खबर संवाददाता
२०८० चैत्र १५,बिहीबार ०९:५५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा हुन लागेको निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा भोलि चैत्र १६ गते र पर्सी चैत्र १७ गते हुन लागेको महासंघको वार्षिक साधारणसभाको तयारी पूरा भएको हो ।

साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार सहित करिब एकहजार ८ सय निर्माण व्यवसायी सहभागी हुने निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए ।

उनका अनुसार, साधारणसभा हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुनेछ । उक्त साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

साधारणसभाका लागि विभिन्न समिति निर्माण गरी जिम्मेवारी प्रदान गरेर काम भैरहेको संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईंले बताए ।