एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द

तु खबर संवाददाता
२०८० चैत्र १६,शुक्रबार १५:३१
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुमतिपत्र रद्द गरेको छ ।

बोर्डले आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको गुनासा आएको भन्दै अनुमतिपत्र रद्द गरिएको जनाएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै बोर्डले सो बारे जानकारी गराएको हो । बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा संचालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ । ’

आवश्यक परेमा त्यस्ता व्यक्तिहरूबाट पर्यवेक्षण मात्र गर्न लगाउन सकिने बोर्डले जनाएको छ ।