हेटौंडाका दुई संस्थालाई आर्थिक सहयोग प्रदान

तु खबर संवाददाता
२०८० चैत्र १८,आईतवार १०:२०

मकवानपुर । नेपाल निर्माण व्यवसायी महासंघले बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित दुई संस्थालाई आर्थिक सहयोग गरेको छ ।

महासंघको हेटौंडामा भएको २५ औँ साधारण सभाको अवसरमा महासंघ अन्तर्गतको निर्माण व्यवसायी महिला समन्वय समितिले दुई सस्थालाई सहयोग गरेको हो ।

साधारण सभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन एवम् निर्माण व्यवसायी संघ मकवानपुरको समन्वयमा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रमबीच दुई संस्थालाई सहयोग गरिएको हो ।

सहयोग प्राप्त गर्ने संस्थाहरुमा हेटौंडा उपमहानगरपालिका ४ स्थित सेन्टर फर अटिजम मकवानपुर र हेटौंडा–१७ गैरीगाउँस्थित श्रीमद् भागवत ज्ञानसञ्चार वृद्धाश्रम रहेका छन् ।

दुबै संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरुले २५–२५ हजार रुपियाँ बराबरको चेक प्रदान गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवम् निर्माण व्यवसायी महिला समन्वय समितिका संयोजक गङ्गा पोखरेल, महासंघका केन्द्रीय सदस्य गीता शाही, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलल गायतका संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।