हेटौंडामा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित चन्द्रसूर्य पेट्रोल पम्प नजिकै सुमाले ठक्करबाट दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश १–०२–०१ ज ४३०० नम्वरको टाटा सुमोले ठक्कर दिँदा हेटौंडा–११ शान्ति चोक बस्ने अन्दाजी ३५ वर्षीय ज्ञाने सुनारको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, हिजो शनिबार राति पौने ९ बजेको समयमा टाउको र शरिरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको भनि प्रहरीमा खबर प्राप्त भएको थियो ।
उक्त घटनाबारे जानकारी भएलगतै अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट प्रहरी टोली खटि गई उनको तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा राति साढे ९ बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीले मृतक सुनारलाई कुन सवारीले ठक्कर दिएको भनि तत्काल खुल्न नसकेपनि सीसी टिभी हेर्दा उक्त टाटा सुमोले ठक्कर दिएको खुल्न आएको बताए ।
त्यसपश्चात इलाका प्रहरी कार्यालय इटहरी सुनसरीसंग समन्वय गरी उक्त टाटा सुमो र चालक मोरङ ग्रामथाङ नगरपालिका–७ बस्ने ३६ वर्षीय चेतनाथ सापकोटालाई आज दिउँसो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीको नियन्त्रणमा रहेको उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।