बागमतीका नवनियुक्त योजना मन्त्रीद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०८० चैत्र १८,आईतवार १६:४४
file-photo

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पदभार ग्रहण गरेका छन् ।

मन्त्री थपलियाले आइतबार एक कार्यक्रमबीच हेटौंडास्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

नेकपा एमालेबाट मन्त्री बनेका थपलियालाई शनिबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी भएका हुन् ।

उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।