भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कने भएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा गएका उपप्रधानमन्त्री श्रेष्ठ आज फर्किन लागेका हुन् ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठसँगको भ्रमण टोलीमा नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए ।