मकवानपुरको बकैयामा निःशुल्क स्वास्थ्य शिविर सुरु
![](https://www.tukhabar.com/wp-content/uploads/2024/04/bakaiya-shibir.jpg)
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत् स्वास्थ्य शिविर आजबाट सुरु भएको छ । उक्त शिविर वीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंले आयोजना गरेको हो ।
बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा आयोजित निःशुल्क स्वास्थ्य शिविर नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२ स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोग भएको हो ।
शिविर उद्घाटन कार्यक्रम बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता एवम् नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री डीना उपाध्यायको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि उपाध्यायले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निः शुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताइन् ।
राज्यले दीर्घ रोगीलाई उपचारमा सेवा सुविधा दिँदै आएको बताउँदै राज्यले दिने सुबिधा बारे ज्ञान नभएको कारण जनता माग्ने हुनुपरेको बताइन् ।
शिविरमा डा. नरेन्द्र मैनाली, डा.अमृत घिमिरे, डा.पवित्रा श्रेष्ठ, डा.बलराम विष्ट, डा.गौरव पन्थ, डा. विवेक नेपाल, डा. लुना गौतम, डा. राजेम श्रेष्ठ र डा. सपना घिमिरेलगायतका विशेषज्ञ डाक्टरहरुद्वारा सबै किमिसमा रोगको उपचार भइरहेको छ ।
कार्यक्रममा वीपी चिन्तन प्रतिष्ठान केन्द्रिय कोषाध्यक्ष एवम् स्वास्थ्य शिविर संयोजक धुब्रबहादुर पाण्डे, गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, नेपाली काङ्ग्रेस पूर्वसभापति रघुरमण न्यौपाने, बकैया गाउँपालिका निवर्तमान अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, नेकपा माओवादी जिल्ला कमिटी सदस्य लोकनाथ गौतम, नेकपा एमाले अध्यक्ष गोपाल दाहाल, नेपाली काँग्रेस नेता आनन्दराम पराजुली, वीपी चिन्तनका सम्पूर्ण सदस्यहरु, गाउँपालिकाका स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।