‘देश विकासको काम एमालेको नेतृत्वमा मात्र हुन्छ’
मकवानपुर । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने दाबी गरेका छन् ।
भीमफेदी गाउँपालिका–४ वडा कमिटीको आयोजनामा बिहीबार भएको वडा भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।
एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको सुरुवात भएको बताउँदै उनले एमालेको सरकार हट्ने बित्तिकै अर्को सरकारले ती सबै योजनाहरु कटौती गरेको आरोप लगाए ।
मन्त्री श्रेष्ठले जनताको आवश्यकता पूरा गर्न एमाले सँधै अघि बढ्ने बताए । नेकपा एमालेसँग भिजन रहेको भन्दै उनले देश विकास गर्ने इच्छा रहेको उनको भनाई छ ।
उनले पार्टीले मिसन ८४ लिएर अघिबढेकोले २०८४ मा नेकपा एमालेले बहुमत हाँसिल गर्ने किसिमबाट लाग्न सबै कार्यकर्तालाई निर्देशन दिए ।
भेला भिमफेदी–४ कमिटीका अध्यक्ष सुर्यबहादुर भोम्जनको अध्यक्षतामा भएको हो ।