लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री महराले शुक्रबार बसेको प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
८६ सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा उनले ४८ मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत पाएका हुन् ।
मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद छन् ।
महरा गत चैत्र २३ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।