बागमती प्रदेश युवा परिषद्ले तीन दिने सम्मेलन गर्ने
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले तीन दिने युवा सम्मेलनको आयोजना गर्ने भएको छ ।
समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले यही वैशाख २८, २९ र ३० गते युवा सम्मेलनको आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए ।
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईँले बताए ।
परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने उनको भनाई छ ।
२ सय जना युवाले सहभागिता जनाउने उक्त सम्मेलनमा विभिन्न कार्यशाला हुने उनले जानकारी दिए ।