स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने
काठमाडौं । स्वीकृति नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै कानुनी व्यवस्था विपरीत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा विदेशी पाठ्यपुस्तकहरु प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
सबै स्थानीय सरकार एवम् शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
केन्द्रले गत चैत्र १६ मा सूचना जारी गर्दै सबै स्थानीय तहका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त पाठ्यपुस्तक÷पाठ्यसामग्री÷सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन भनिएको थियो ।