कतारी राजाको नेपाल भ्रमणः यस्तो छ दुई दिने कार्यतालिका

तु खबर संवाददाता
२०८१ बैशाख ११,मंगलवार १६:१९

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्नमा नेपाल आइपुग्ने भएका छन् । उनी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

अमिरले नेपाल आएलगत्तै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यसूची रहेको छ ।

त्यसपश्चात अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोज (डिनर) को आयोजना गरेका छन् ।

सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरु पनि सहभागी हुने जनाइएको छ ।

यस्तै, भोलि बुधबार बिहान साढे १०बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

अमिर शेख बुधबार साढे २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।