बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

तु खबर संवाददाता
२०८१ बैशाख १२,बुधबार ०९:३६

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने आगलागीमा परेर २ जना घाइते भएका छन् ।

जिल्लाको बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । उक्त आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको हो ।

घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित २ जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।