शिवम् सिमेन्ट प्रकरण: लापरबाही सुधार्न मेयर लामाको सात दिने अल्टिमेटम

तु खबर संवाददाता
२०८१ बैशाख १३,बिहीबार २०:२८

मकवानपुर । हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगले गर्दै आएको गम्भीर लापरबाही सुधार गर्न हेटौंडा उपमहानगरपालिकाले ७ दिनको समय दिएको छ ।

उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि मेयर मिना कुमारी लामाले लापरबाही सुधार गर्न उद्योगलाई सात दिने अल्टिमेटम दिएकी हुन् ।

आज उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकपश्चात् मेयर लामाले उद्योगले समयभित्रै कमिकमजोरी सुधार गरी जनताको माग पूरा नगरे कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने बताइन् ।

उनले भनिन्, ‘जनताको गुनासो धेरै पटक आएको छ । मैले शिवम् सिमेन्टको विषयमा अब हात हालेँ, यो छलफल पहिलो र अन्तिम बनोस् भन्ने म चाहान्छु । उद्योगले चाँडै लापरबाही सुधार गर्नुपर्यो । नत्र, कानून बमोजिम कारबाही हुन्छ ।’

छलफलका क्रममा स्थानीयलाई आश्वासन दिँदै लामाले भनिन्, ‘सुन्नुहोस् अब मैले हात हालेको छु । उद्योगले लापरबाही सुधारेन र तपाईँहरुको माग सम्बोधन भएन भने, उद्योगमा म डोजर चलाउँछु ।’

वडा अध्यक्षको संयोजकत्वमा अनुगमन समिति

सर्वपक्षीय बैठकले शिवम् जनताको स्वास्थ्यप्रति गैर जिम्मेवार बनेको भन्दै उद्योगका कारण समस्यामा परेका स्थानीयको माग पूरा गर्न समिति गठन गरेको छ ।

उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिकजन्य पदार्थहरु संकलन गरी जलाएको र लामो समयदेखि धुलोका कारण स्थानीय पीडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानीयको समस्या समाधानका लागि हेटौंडा– १६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो ।

सह संयोजकमा १७ नम्वर वडा अध्यक्ष उद्धव सत्याल र हेटौंडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का सदस्य सचिव रहनेगरी १८ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढुङ्गाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउँने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा विभिन्न स्थानबाट संकलित प्लाष्टिक जलाए, नजलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिने जनाइएको छ ।

बैठकका क्रममा स्थानियले विगत १५ वर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानीयमा स्वासप्रस्वासको समस्या देखिएको गुनासो गरेका थिए । पटक÷पटक बैठक बस्दै सम्झौता गरेपनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।

छलफलका क्रममा उपप्रमुख राजेश बानियाँले स्थानियलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए ।

छलफलमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजाल, शसस्त्र प्रहरी बल मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उद्योग संघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, शिवम् सिमेन्टका सञ्चालक रघुनन्दन मारु, प्रभावित क्षेत्रका स्थानीय टोलविकास सस्थाका प्रतिनिधि र स्थानियको सहभागिता रहेको थियो ।