कक्षा १२ को परीक्षा दिँदै मनहरीका वडाध्यक्ष खनाल

तु खबर संवाददाता
२०८१ बैशाख १६,आईतवार १८:३५

मकवानपुर । ‘पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।’ भन्ने कुरालाई मकानपुरका जनप्रतिनिधि चरितार्थ गरिदिएका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा भए । यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लागेका उदाहरणीय पात्र बनेका छन्, खनाल अहिले ।

उनी वैशाख १४ गते शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भए । उनले निर्मल बहुमुखी क्याम्पस बस्तिपुरबाट परीक्षा दिइरहेका छन् । उनी विद्यालय पोशाक लगाएर बिहानै परीक्षामा सहभागी हुन परीक्षा केन्द्र पुगेका थिए ।

उनले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए । सुरुको दिन शुक्रबार भएको अंग्रेजी परीक्षा अत्यन्तै राम्रो भएको बताउँदै राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्वपूर्ण भूमिका हुने भन्दै उनले अब पढाइलाई निरन्तरता दिने बताए ।

मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष एवम् बाल जीवन ज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खनालले शिक्षा अति नै महत्वपूर्ण रहेको र शिक्षाले नै सबै ढाकाहरू खोले आफूले महसुस गरेको भन्दै आफू १२ कक्षाको परीक्षामा सहभागी भएको बताए ।
२०५६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बिचमै छाडेका हुन् । ‘घरमा समस्या थियो, आर्थिक विपन्नताले एसएलसी पछिको शिक्षालाई अगाडि बढाउन सकिन’, उनले भने ।

उनी वडाबाट समय मिल्दा बेला बेलामा विद्यालय अध्ययन गर्न समेत जाने गरे । जसले पढ्यो, त्यसले जित्यो भन्ने अभिप्रायका साथ उनी विद्यालयका अन्य विद्यार्थीहरूसंग सहभागि भएर अध्ययन गर्दै आइरहेका छन । उनले अघिल्लो वर्ष कक्षा ११ को परीक्षा दिएका थिए । कक्षा १२ पछि पनि अध्ययनलाई निरन्तरता राख्ने उनको योजना छ । पढाइ र ज्ञान आर्जनका लागि कुनै उमेर नहुने मान्यता राखेका खनाल शिक्षा र सामाजिक क्षेत्रमा जीवन रहेसम्म सक्रिय हुने उनी बताउछन् ।

उनी अध्ययन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका थिए । उनी विकास र शिक्षा प्रेमी जनप्रतिनिधिको रुपमा परिचय बनाउन सफल व्यक्ति हुन् । उनी मनहरीमा रुचाइएका जनप्रतिनिधि मध्य एक हुन् ।

उनलाई जनताले दुई पटक वडाध्यक्षमा मतदान गरी निर्वाचित गराएका छन । उनी जनताको काम आफ्नै सम्झेर गर्ने वडाध्यक्ष हुन । स्थानीयस्तरका समस्या समाधान गर्न जुनसुकै बेला पनि जनताकोमा हाजिर हुन तयार खनाललाई जनताले विश्वासको मत दिएर पटक–पटक जनप्रतिनिधिको रुपमा जिताएका छन् ।