पत्रकारिता क्षेत्रलाई जवाफदेही बनाउनुपर्नेः मेयर लामा

तु खबर संवाददाता
२०८१ बैशाख १९,बुधबार १६:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले राष्ट्रको स्वाधिनता, राष्ट्रियता र मानव अधिकारको प्रत्याभूति तुल्याउन व्यवसायी पत्रकारिता क्षेत्रलाई अब जवाफदेही बनाउनुपर्नेमा जोड दिएकी छन् ।

बुधबार नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औं साधारणसभा एवम् १२ औं जिल्ला अधिवेशनको हेटौंडामा आयोजित कार्यक्रममा बोेल्दै मेयर लामाले सो कुरामा जोड दिएकी हुन् ।

स्थानीय निकायले गर्दै आएको आफ्नो भूमिकालाई अझ प्रभावकारी ढंगबाट जनहितमा परिचालन गर्न पत्रकार महासंघको सुझाव र सल्लाह स्थानीय निकायलाई आवश्यक रहेको उनको भनाई छ ।

मेयर लामाले संचारकर्मीहरुले जिल्लामा रहँदा स्थानीय निकायमा रहेको पर्यटन, धार्मिक स्थल, खानेपानी, स्वास्थ्य उपचार सेवा लगायत दलित बस्तीमा भइरहेका विभेदहरुलाई संचारमाध्यमहरुले समाचारलाई प्राथमिकता दिँदा ती क्षेत्रका जनताहरुले स्थानीय निकायबाट पाउने स्रोतसाधनबाट आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने बताइन् ।

कार्यक्रममा पत्रकार महासंघको केन्द्रीय सचिव श्रृजना अर्याल, महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव प्रसाद देवकोटा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुरको अध्यक्ष अञ्जली थापा, एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष शिव चौलागाईँ लगायत पत्रकार महासंघका पूर्व अध्यक्षहरु  र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकोको आतिथ्यता रहेको थियो ।

सधारणसभा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको हो ।

उक्त साधारणसभामा महासंघका सचिव शुभलक्ष्मी विश्वकर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशव सर्मपण सुबेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।