मकवानपुरका दुई पत्रकारलाई पुरस्कार प्रदान

मकवानपुर । पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत दुई जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ ।
महासंघले आफ्नो १८ औं साधारणसभा एवम् १२ औं अधिवेशनको अवसर आयोजित कार्यक्रममा पत्रकारद्वय सरिता दाहाल र नवराज शर्मा तिमल्सिनालाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको हो ।
महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठ स्मृति पुरस्कारबाट दाहाललाई र बोर्नबहादुर र पार्वती राउत स्मृति पुरस्कारबाट तिमल्सिनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रसंशापत्र प्रदान गरिएको हो ।
उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा र विशेष अतिथि पत्रकार महासंघको केन्द्रीय सचिव श्रृजना अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
महासंघले ती दुबै पुरस्कारहरु प्रत्येक वर्षको साधारणसभामा संचारकर्मीको नाम छनौट गरी पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा हेटौंडामा भएको हो ।