‘पत्रकार भएकै कारण चुल्हो बाल्न समस्या हुँदैन’
जसोतसो चलिरहेका सञ्चार माध्यमहरुले कोरोनापछि झनै ठूलो समस्या भोगिरहेका छन् । सीमित विज्ञापन बजारका कारण सामान्य अवस्थामै पनि चल्न नसक्ने परिस्थिति भोगेका नेपाली मिडियामा कोरोना भयंकर समस्याको रुपमा देखा पर्यो ।
यही बीचमा नेपाली छापा मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुले रोजगारी गुमाउनुपर्यो र कतिपय सन्दर्भमा नेपाल पत्रकार महासंघले पत्रकार पुनस्र्थापनाका लागि आन्दोलन पनि गर्नुपर्यो । केन्द्रीय स्तरमा दशकौंदेखि प्रकाशित हुँदै आएका दैनिक पत्रिकाहरु दुब्लाउन थाले ।
बजार दिनप्रतिदिन खस्किन थाल्यो । मोफसलका दैनिक तथा साप्ताहिक पत्रिका त झनै धराशायी बन्न पुगे । राज्यले एकपछि अर्को गलत नीति बनाइरह्यो र मदिरा उद्योगले पाएजतिको सहुलियत पनि नेपाली मिडिया उद्योगले पाउन सकेनन् । यी पत्रिकाहरु जोगाउन राज्यले केही गर्नुपर्छ भन्ने सोच राखेको पनि देखिएन । यसमा मिडिया सञ्चालकहरुको पनि केही हदसम्म दोष छ । उनीहरुले आफ्नो नेतृत्वमा प्रकाशित पत्रिकाहरुलाई बलियो बनाउन कुनै कार्ययोजना बनाएनन् । फगत राज्यको मुख हेरिरहे, जसबाट केही प्राप्त भएन र अहिलेको संकटको अवस्था बन्यो ।
छापा मिडियाको अवस्था र यसले उठान गर्ने विषयमाथि विभिन्न समयमा बहस हुँदै आएको छ । विभिन्न दृष्टिकोणबाट छापा मिडियामाथि बेग्लाबेग्लै धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, वास्तवमा नेपाली छापा मिडियाको अवस्था, यसले पाठकसमक्ष सम्प्रेषण गरिरहेको समाचार सामग्री, कार्यरत पत्रकारहरुले भोगिरहेका समस्या र अन्य सम्बन्धित विभिन्न विषयमा लामो समय छापा मिडियामा कार्यरत रही अनुभव बटुलेका पत्रकारको अनुभव के छ त ? पत्रकार ध्रुव लम्सालसँग यीनै विषयमा आधारित रहेर तु खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
नेपालमा छापा पत्रकारिताको स्थिति कस्तो छ ?
अहिले छापा पत्रकारिताको स्थिती त्यति सुखद छैन । डिजिटल प्लेटफर्मको प्रभावले छापा पत्रकारिताको दायरा खुम्चिदो छ । छापाले पनि प्रविधिसंग साक्षात्कार गर्दै अघि बढ्नैपर्ने बाध्यता छ ।
प्रविधीसंग साक्षात्कार गरेर मात्रै पत्रकारिता टिक्दैन । समाचार सामग्री छनौटमा छापा माध्यममा कार्यरत पत्रकारहरु विषेश चनाखो हुन जरुरी छ । डिजिटल प्लेटफममा आउने भन्दा फरक सामग्री दिन सकिएन भने छापा माध्यमलाई टिक्न गाह्रो छ । समाचार सामग्रीमा फरकपन दिन सक्यो भने छापा माध्यम फेरि पनि अब्बल हुन सक्छ । किनकी छापा माध्यमको आफ्नो खालको प्रभाव अझै पनि बाँकी छ ।
लामो समय दैनिक पत्रिकाको सम्पादक भएर काम गरिसक्नुभएको छ, तपाईको दृष्टिकोणमा दैनिक पत्रिकाले पर्याप्त विषयवस्तु उठान गर्न सकेका छन् कि छैनन् ?
अहिलेको स्थितीमा म आफ्नै कामबाट सन्तुष्ट छैन । हाम्रो पत्रकारिता अहिले पनि राजनीति केन्द्रित छ । कतिपय अवस्थामा हामी अहिले पनि नेताका भाषणलाई मुख्य समाचारका रुपमा राख्छौं, जुन समाचारप्रति पाठकको रुची घट्दो छ । दैनिक पत्रिकाले अब अहिलेसम्म भाषणमा भनिएको तर, नागरिएको ‘आवाज विहिनहरुको आवाज’ लाई समेट्न सक्नुपर्छ ।
पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाबारे तपाईको धारणा के छ ?
यसमा पनि हामी चुकेका छौं । भुलचुकमा हुने उलङ्घनका घटनालाई सामान्य रुपमा लिन सकिन्छ । तर, कतिपय अवस्थामा नियोजित रुपमा पत्रकारबाटै आचारसंहिता उलङ्घन भइरहेका छन् । यसले समग्र पत्रकारितामाथि नै प्रश्न उठाउने काम गरिरहेको छ । हरेक सन्दर्भमा राज्यले डण्डा लगाउन सम्भव हुँदैन र पत्रकारलाई राज्यले डण्डा लगाएर तह लगाउने नीति बनाउनु पनि हुन्न । पत्रकार आफैं सचेत हुनुपर्छ ।
प्रेस काउन्सिलको भूमिका कस्तो पाउनुभएको छ ?
प्रेस काउन्सिलले आफुले गर्नु पर्ने काम पुरा गरे जस्तो लाग्दैन ।
तपाई नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवसमेत भएर काम गरिसक्नुभएको छ । पत्रकार महासंघको गतिविधिबारे तपाईको दृष्टिकोण कस्तो छ ?
समग्रमा भन्ने हो भने पत्रकार महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि काम गर्नुपर्ने हो । पत्रकारका हकहितका लागि काम गरिनै रहेको छ । महासंघकै पहलमा धेरै पत्रकारहरुले श्रमका सन्दर्भमा उपलब्धि हाँसिल गरेका छन् । यस अर्थमा महासंघले काम गरेन भन्दिन ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन किन जटिल बन्दै छ ?
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुनुको मुलकारण सरकार नै हो । आफ्नै नीति कार्यान्वयनका लागि बाध्य पार्ने काम सरकारबाहेक अरुले सक्दैन । श्रमजीवी ऐन कार्यान्वयनको सन्दर्भका कतिपय विषयमा पत्रकार महासंघको पनि आलोचना हुने गरेको छ । महासंघको भूमिका दवाब दिने मात्रै हो । कार्यान्वयन मिडिया हाउसले गर्नुपर्छ । ऐन कार्यान्वयन गर्ने मिडिया हाउसलाई वाध्य पार्ने काम सरकारले गर्नुपर्छ ।
पत्रकारिता क्षेत्रमा देखिएका विकृति न्यूनिकरण गर्दै नागरिकको विश्वास बढाउन के गर्नुपर्ला ?
पत्रकारितामा विकृती अरुका कारण होइन पत्रकारकै कारण आएको हो । त्यसकारण सबै भन्दा पहिला पत्रकार आफैं सचेत हुनुपर्छ । यो पेशालाई मर्यादित बनाउने पत्रकार आफैंले हो । तर, ठाउँ अनुसार पत्रकार आफैं न्यायाधीश हुने प्रवृत्ति पनि छ । यो प्रवृत्ति त्याग्न सक्नुपर्छ ।
सञ्चार माध्यमले उत्पादन गर्ने समाचारजन्य सामग्रीलाई सत्यतथ्य, निश्पक्ष, वस्तुनिष्ट, सन्तुलित एवम् गुणस्तरीय बनाउन के गर्नुपर्ला ?
यसमा पनि पत्रकारकै इमान्दारिता मुख्य कुरा हुन्छ । समाचार सामग्री पत्रकार स्वयंले तयार पार्ने भएकाले यसलाई वस्तुनिष्ट, सन्तुलित, निश्पक्ष बनाउने दायित्व उसैको हो । जे मन लाग्यो लेख्ने अनि पब्लिकले गालि गरे भनेर विज्ञप्तिका लागि महासंघमा गुहार माग्ने प्रवृत्ति रोकिनुपर्छ ।
सरकार पत्रकारिताप्रति उदार देखिँदैन । कानूनहरु पनि मिडियामैत्री बन्ने गरेका छैनन् । तपाईको बुझाइमा मिडियालाई अंकुश लगाउने कानून बन्नुको कारण के होला ?
हाम्रो प्रशासनिक संयन्त्र साँढे जस्तो छ । उसको मानसिकता अहिले पनि ‘राणकालिन’ छ । जो आलोचना स्वीकार्दैन, चाकडी चाहन्छ । अर्को कुरा पछिल्लो समय भ्रष्टाचारको जरा एकदमै झाङ्गिएको छ । भ्रष्टाचारमा संलग्नले जति नै फुर्ति लगाए पनि कुनै दिन फसिन्छ भन्ने सन्त्रास पालेर बसेको छ । कुनै पनि भ्रष्टाचारको सन्दर्भ सार्वजनिक हुने मिडिया मार्फत नै हो । मिडिया सम्बन्धी कानून कडा बनाइयो भने मिडिया डराउँछन् भन्ने मानसिकताले पनि काम गरेको छ ।
पत्रकारितामा आउन चाहेका नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?
पत्रकारिता मात्रै त्यस्तो क्षेत्र हो जहाँ आफ्नो क्षमता अनुसारको काम गर्न पाइन्छ । त्यसकारण समाचार लेख्न सक्छु भन्ने इमान्दार मान्छेका लागि पत्रकारिताको मैदान निकै फराकिलो छ । पत्रकार भएकै कारण चुल्हो बाल्न समस्या हुँदैन ।