नियात्रा: द्रूतमार्गमा ओहोरदोहोर
भर्खर निर्माणले आरम्भ पाउँदै गर्दा दू्रतमार्ग (फास्ट ट्रयाक) को नाममा एकपटक बकैया खोला भएर छतिवन जान खोजेका थियौँ – म र किशुनदयाल श्रीकृष्ण । श्रीकृष्ण केही वर्षदेखि साहित्यिक यात्राका सारथि छन् मेरा । म चाहिँ युद्धको अर्जुन होइन । म बाइक चलाउन जान्दिनँ, यसैले कतै संयुक्त निम्तो हुँदा बाइकको पछाडि बसेर श्रीकृष्णलाई धुलोबाट बचाउने प्रयास गर्छु र बाटो देखेको ठाउँमा खलासीको काम पनि गरिरहेको हुन्छु । पहिलोचोटि बकैयामा पानी अलिक बढेको बाइक लैजान नसक्ने ठानी खोलामा जुत्ता चोपलेर र पाइन्ट भिजाएर घर फिरेका थियौँ झरनाको कार्यक्रममा पुग्न नपाइकनै ।
यसपटक भने फागुन १२ (२०८०) मा झरनाको निम्तो र आग्रह मान्न फेरि कसियौँ । पहिले त निजगढभन्दा अलिक पश्चिम भएर बकैया पारि ट्राफिक प्रहरीको कार्यालय नजिक हुँदै बरालिँदै एक घन्टा समय खेर फाल्यौँ । दुःख पनि पायौँ । अनुभवी रामको पछि लागेर श्रीकृष्णले दुःख पाएका हुन् । राम र श्रीकृष्ण दुवैका पछाडि बसेकाहरु भने देखाइएको बाटोको बारेमा अनभिज्ञ नै थियौँ तर रामले भने बाटो देखेको बताएका थिए र अघि लाग्दा दुःख पाएका थियौँ । घुमिफिरि रुम्जाटार भनेझैँ हल्लिँदै, रल्लिँदै र बरालिँदै उही केही वर्ष पहिले फर्किने जहाँ अन्तिम गन्तव्यमा पुग्छौँ तब गएर चल्तीको बाटो फेला पर्छ । बकैया नदीको लगभग किनारै किनार, खोलैखोला र अलिक छेउभएर दुवैतिर पहाडको बिचमा यात्रा गर्दा जुन किसिमको रमाइलो हुनुपर्ने हो, त्यो अलिक हुन पाउँदैन पहिलोचोटि । यसको मूल कारण उत्सुकता र कुतूहल हो । उकालो र ओरालो गरिरहने बाटो हो र बाटोमा उडिरहने धुलोले अनुहारलाई छोप्न आइपुग्ने परिस्थितिले पनि हो । ह्वात्तै उकालो र ह्वात्तै ओरालो बाटो भएर बाइकलाई कतै सजिलो त कतै अप्ठ्यारो छ । यात्रा अगाडि यसरी बढिरहन्छ र रोमाञ्चले भरिएको छ ।
निजगढदेखि जहाँसम्म निर्माणाधीन द्रूतमार्गको वरिपरि यात्रारत रह्यौँ, सबै ठाउँमा निर्माण र निर्माण तथा केवल निर्माण भइरहेको देख्यौँ । यस्तो लाग्छ, यस गतिमा निर्माण भइरहेको छ कि हरेक ठाउँमा जे निर्माण हुनुपर्ने हो त्यो भइरहेको छ । दर्जनाँै ठाउँमा पुल बनिरहेको देखिन्छ । पुलका अजङका पिलरहरु सम्भवतः कहीँ पनि देखिएको सम्झनामा आउँदैन । कति अग्लो र कति विशाल पिलर ? पहाडको टाउकोलाई छुने किसिमका पिलरहरु निर्माण हुँदै गर्दा यस्तो अनुभूति हुन्छ कि प्राकृतिक पहाडको अग्लाईलाई मात्र होइन बलियोपनालाई पनि कृत्रिम लिलररुपी पहाडले चुनौ दिइरहेका छन् । पहाडहरु त नदीको छेउछाउमा छन्, नदीदेखि डराएर बाटो दिएको त पहाडले नै हो नि तर पिलरहरु त नदीको बहावलाई नै चुनौति दिइरहेका छन् । अहिले बगिरहेको पानीमा होओस् चाहे नदी सारै रिसाएको मौसममा देखाएको रौद्र रुपको अवशेषको स्थलमा होओस् । पहाड दबिएको छ र पिलर ठडिएको छ । प्रकृतिमाथि मानिसले विजय प्राप्त गरिरहेको प्रतीकको रुपमा यसलाई लिन सकिन्छ ।
पहिलोचोटि कुनै बाटो कतै हिँड्दा त्यसे बाटो कति लामो भएको हो जस्तो लाग्ने हुन्छ । हामीलाई भने बाटोको न अन्दाज थियो र न त अनुभूति । पहिले धेरैपटक छतिवनसम्म पुगेको अनुभूति थियो । छतिवन जतिपटक पुगेको भए पनि हेटौँडाबाट नै पुगेका वा हेटौँडा भएर नै पुगेका हौँ । यसपटक छतिवनभन्दा अलिक विकट ठाउँतिरको यात्रा छ । ठाउँ कहाँनेर हो भन्ने कुरा केही जानकारी छैन । यत्ति हो कि हात्तीसुडेँ चाहिँ पुग्नु छ पहिला । त्यहाँ नै शायद खानाको व्यवस्था छ । नभए पनि त्यहाँको खाना मिठो हुन्छ, आयोजकसित भेट नभए पनि खाना त्यहाँ खानुपर्छ भनने लागेको छ । हाम्रो यात्रा यसै गरी अगाडि बढिरहेको छ । अनेक गन्थन मन्थन चलिरहेको छ हामीबिच ।
हामीलाई लागिरहेको छ, यो द्रूतमार्ग निर्माण निकै विशाल काम हो । अहिले कम्तीमा जीप र मोटरसाइकल चल्ने भइसकेको छ । मूल बाटो होइन, बाटो निर्माण हुन अझै धेरै बाँकी छ । नेपालको गौरव र गरिमाको सडक लाग्ने छ जब नेपालीले यस सडकलाई उपयोग गर्ने गरी सञ्चालनमा आउँछ । भारतमा यस्ता राजमार्गहरु थुप्रै देखेको छु तर नेपालमा भने यस किसिमको पहिलो अनुभूति हुनेछ । त्यसमा पनि श्रीकृष्णजीको तर्क छ कि केही समयपछि यो साँघुरो हुन्छ । मेरो स्पष्टीकरण छ कि यो बाटा ेनिर्माण हुँदासम्म अन्य धेरै बाटाहरुको निर्माण भइसक्छन् र अहिलेको तुलनामा नेपालमा जनसंख्या बढ्ने वा गाडीको संख्या कतिको बढ्ने हो भन्ने कुरो निश्चित छैन । नेपालको जनसंख्या आगामी दशकमा घट्ने सम्भावना र संकेत देखिएका छन् । अर्को कुरा, नेपालको यो एउटा टोलटेक्स रोड हुनेछ । यसमा गाडी चढ्नासाथ कर तिर्नुपर्छ । कर तिरेर जानुपर्ने भएकोले यो सकडम मूल्यवान हुनेछ । हामी नेपाली सडकमा हिँड्दा कर तिर्न अभ्यस्त भइसकेका छैनौँ । फेरि पूर्वको गाडी पूर्वबाटै र पश्चिमको गाडी पश्चिमबाटै जाने हुन्छ । यसकारण यो सडक धेरै सुरक्षित हुन्छ र साँच्चिकै द्रूतमार्ग हुन्छ । यसमा यात्रा गर्नेहरुले निकै लाभ लिन पाउँछन् ।
चुरे कटेपछि हामी अलिक गाउँ देखिने ठाउँमा पुग्छौँ र अब चाहिँ मूल पहाड कटेको अनुभूति गर्छौँँ । कार्यक्रमको लागि हात्तीसुँडेमा पुग्दा आयोजकसित त्यहीँ भेट भइहाल्छ । यो पहिलो यात्रा थियो द्रूतमार्गको । उताबाट पनि सोही बाटा फर्कियौँ । एकै दिनमा दुई तिरको आनन्द लिन पायौँ तर जाडोको समय थियो जसको जाडोले मलाइ नराम्ररी गाँज्यो र म घर फर्केपछि बिरामी भएँ ।
गत फागुन महिनामा नै दोस्रो यात्रा गर्ने मौका पाइयो सोही बाटो । दोस्रोचोटि यात्रा गर्दा भने निकै सजिलो लाग्छ । बाटो उही र खासै परिवर्तन भएको नदेखिएपछि आकाशलाई छुने केही पिलरहरुले आफ्नो अग्लाई बढाएका रहेछन् । काम धमाधम भइरहेको देखेर तोकिएको समयमा द्रूतमार्गको निर्माण पूरा हुने विश्वास मनभरि अटाउँछ मज्जाले । मित्र राम अविकासको घरमा निम्तो मान्न फागुनको अन्तिम हप्ता श्रीकृष्णजी र म मज्जाले पुगेर मज्जाले फर्किन्छौँ । यसपटक कुनै अप्ठ्यारो कतै हुन पाउँदैन । लाग्छ, यस बाटोका हामी अभ्यस्त यात्री हौँ ।
अहिले जुन बाटो हामीले यात्रा गरेका छौँ, बाटोको निर्माण भएपछि अहिलेको बाटो हिँड्न पाउने सम्भावना लगभग छैन । यसकारण यो प्रारम्भिक बाटोको यात्रा निकै महत्वपूर्ण छ ।