मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार ०९:५६

म्कवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ भालुखोलामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का घटनाको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम जनपत्र मिडिया प्रा.लि.को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएको हो ।

सो क्रममा सहभागी स्थानीय बासिन्दाहरुले अब हुने गरेका विपद्बाट जोगाउनका लागि बागमती प्रदेशका सांसद्, मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिहरुसंग आग्रह गरेका थिए ।

मकवानपुरगढीमा हेटौंडाको शिवम सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावि रुपमा उत्खनन् गरेका कारण पनि बाढी पहिरोका घटना बढ्दै गएको स्थानीय टिका दाहालले गुनासो गरे ।

बिशेषगरी मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा निकै चट्याङका घटना हुने गरेको सहभागिहरुको गुनासो छ ।

बिच खोलामा निर्माण हुन लागेको पुल समयमा नै नबन्दा पनि वर्षायाममा भेलले गाउँलाई असर गर्ने मकवानपुरगढी–५ का अर्जुन न्यौपानेले बताए ।

कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेश सभाका सांसद्हरु, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाई सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।