ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित

तु खबर संवाददाता
२०८१ बैशाख २८,शुक्रबार १५:४३
file-photo

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा प्रकाशित भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म संचालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा प्रकाशित गरेको हो ।

दोस्रो चरणको लागि छनोट भएका ६ हजार ३२१ जनामध्ये ५ हजार ७५३ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेला र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिहरूको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने जनाइएको छ ।

उनीहरूको स्वास्थ्य परीक्षण यही वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुनेछ । जसमा पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पताल रहेका छन् ।

त्यस्तै, जेठ ५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत् रोजगार आवेदन फाराम दर्ता गरिनेछ ।