बागमती प्रदेशस्तरीय युवा सम्मेलन सम्पन्न
मकवानपुर । बागमती प्रदेशस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ । प्रदेशको राजधानी हेटौंडामा अयोजित उक्त सम्मेलन आइतबार सम्पन्न भएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गरेको दोस्रो संस्करणको प्रदेश युवा सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो ।
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गरेको उक्त सम्मेलनको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
गत शुक्रबारबाट सुरु भएको सम्मेलन तीन दिनसम्म संचालन भएको थियो । घोषणापत्र प्रस्तुत गर्दै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवामैत्री नीति निर्माण र विद्यमान नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै युवाहरुको चाहना र आवश्यकताहरुको सम्बोधन गरिनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले घोषणा गरेको सीप विकास वर्ष २०८१ लाई युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।
उक्त सम्मेलनमा प्रदेशका ९१ पालिकाका २ सय जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस्, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरेको थियो ।