हेटौंडा अस्पताल प्रकरण– हिदम लामा भन्छन्ः राजनीतिक दलहरुले भ्रम फैलाए
मकवानपुर । भीमफेदी गाउँपालिकाका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका उपसचिव हिदम लामाले हेटौंडा अस्पतालको विषयलाई लिएर राजनीतिक दलहरुले भ्रम फैलाउने कार्य गरिरहेको बताएका छन् ।
तु खबरसंग कुराकानी गर्दै लामाले केही दिन अघि आठ राजनीतिक दलद्वारा जारीे विज्ञप्तिमा वास्तविक कुरा उल्लेख नगरी आम जनसमूदायमा भ्रम फैलाउने प्रयास गरिएको बताए । उनले राजनीतिक दलहरुले जनसमूदायमा भ्रम सिर्जना गर्न नहुनेसमेत बताए ।
उनले भने, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को धारा ४७ को उपदफा ३ पढौँ न, उक्त ऐन तत्कालिन बागमती प्रदेश सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो । सदनबाट सर्वसम्मत पारित भएको विषयलाई लिएर तत्कालिन मुख्यमन्त्रीमाथि आक्षेप लगाउनु गलत हो ।’
उनले समाज रुपान्तरणको महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढिरहेका राजनीतिक दलहरुले भ्रम सिर्जना गरेको आरोप लगाउँदै त्यसो नगर्न सुझाव दिए ।
उनले नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने विषयमा बहस गर्न सकिने भएता पनि भर्खरै केही स्तरोन्नती भएर स्वास्थ्य सेवाका लागि ऐन अनुसार अघि बढ्दै गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनावश्यक राजनीति नगर्न सबैलाई आग्रह गरे ।
उनले यस विषयमा आफु तथ्य प्रमाणसहित जुनसुकै स्थानमा उपस्थित हुन सक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोन नम्वर सार्वजनिक गरेका छन् ।