आगलागी र डढेलोमा परेर २६ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो एक महिनामा आगलागी र डढेलोमा परेर २६ जनाको मृत्यु भएको छ । वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनामा परेर देशभर २६ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको थियो ।
तीमध्ये आगलागीका घटनामा परी २० जना र डढेलोका घटनामा परी ६ जना गरी २६ जनाको मृत्यु भएको हो ।
सो अवधिमा आगलागीमा परेर ७३ जना र डढेलोमा परेर १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए ।
आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित बनेको उनले बताए ।
त्यस्तै, उक्त अवधिमा चट्याङबाट आठ जना, उचाइमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको थियो ।