रुखमा बाँधेर जलाएको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ ।
उक्त शव दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार, ५४ वर्षीय सुवेदी दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका थिए । उनी गत २३ वैशाखमा ललितपुरको टिकाथलीस्थित घरबाट हिँडेदेखि सम्पर्कविहीन भएका थिए ।
उनको शव २८ वैशाखमा पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो ।
उनको हत्यापछि रुखमा तारले बाँधेर जलाएको हुनसक्ने आशंका गरिएको भएपनि घटनाबारे पुष्टि भइनसकेको काभ्रे प्रहरीले जनाएको छ ।
सुवेदी मोबाइल समेत घरमै छाडेर निस्किएका थिए । उनले अन्तिम पटक २४ वैशाखमा जिरोकिलोस्थित एक होटल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरेर केहीदिन घर नफर्किने बताएका थिए ।
त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।