भारतमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार
काठमाडौं । भारतको कश्मीरमा बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ ।
नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुर्याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो ।
कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।
मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मीरबाट उद्धार गरी दिल्ली लगिएको थियो ।
उद्धार गरिएकाहरु सर्लाही, महोत्तरी र धनुषा जिल्लाको विभिन्न गाउँका स्थानीय वासिन्दा हुन् ।
उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ ।
घटनामा संलग्न रहेको अराोपमा मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ । जमाल मन्सुरी र मलिम मन्सुरी फरार रहेका छन् । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी आवश्यक प्रकृया अघि बढाएको जनाइएको छ ।