बागमती प्रदेश सभामा डढेलो नियन्त्रणदेखि हेटौंडा अस्पतालसम्मका कुरा
मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही जेठ ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक जेठ ६ गते बिहान ११ बजे बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित गरेका हुन् ।
प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । आज बसेको प्रदेश सभाको पहिलो बैठकमा विशेष समय रहेको थियो । उक्त विशेष समयमा प्रदेश सभाका सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष गरी ३१ जना सदस्यहरुले भाग लिएका थिए ।
उनीहरुले धारणा, समस्या र सुझाव दिएका थिए । प्रदेश सभाका सदस्यहरुले प्रदेशको विभिन्न जिल्लामा भइरहेको वन डढेलोलाई दिर्घकालिन रुपमा नियन्त्रण गर्ने प्रयासको लागि प्रदेश सरकारले गरु योजना तर्जुमा गरी क्रमशः धनजनको क्षतिबाट जोगाउने बैकल्पिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न सल्लाह दिएका थिए ।
साथै उनीहरुले वन डढेलामा परेर मृत्यु भएका र घाइते भएका पीडित परिवारलाई प्रदेश सरकारले उचित आर्थिक सहयोग र उद्धार कार्यमा तीब्रता ल्याउन सुझाव दिइएको थियो ।
बैठकमा प्रतिपक्ष दलका प्रदेश सभाका सदस्यले हेटौंडा अस्पताललाई राजनीतिक दलगत स्वार्थको लागि प्रयोग गरिने उद्देश्यले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने सरकारको निर्णय फिर्ता लिन्पर्ने माग गरेका थिए । उनीहरुले जिल्लामा अत्यन्तै गरिबी रेखा मुनी रहेका सर्वसाधारण नागरिकहरुलाई उपचार लिने क्रममा ज्यादै महँगो आर्थिक भार पर्ने भएकोले सो निर्णयलाई प्रदेश सरकारले खारेज गरी साबिक बमोजिमकै संघीय सरकारको मातहतमा रहने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
बैठकमा प्रदेश सभाका सदस्यहरुले प्रदेशको विभिन्न जिल्लाहरुमा खानेपानीको व्यवस्था गर्न, सिँचाई, सडक निर्माण, ग्रामीण बस्तिमा विद्युत विस्तार गर्ने कार्यलाई प्रदेश सरकारले आगामी बजेटमा समावेश गर्न सुझावहरु दिए ।
यसैगरी, प्रदेशमा कर तथा राजस्व अभिवृद्धि गर्ने क्रमलाई प्रदेश सरकारले सम्बन्धित अर्थ विज्ञ र सरोकारवालाहरुसँग राखेर छलफल गरी राजस्व असुली निर्धारण गर्न वैज्ञानिक प्रकृया अपनाउन आग्रह गरेका थिए ।
यस्तै, प्रदेश सरकारले सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको भएपनि प्रदेश सभामा सदस्यहरुले बोल्ने क्रममा उउनीहरुको भनाईलाई तामाङ र नेवारी भाषामा अनुवाद गरी प्रचारप्रसार गर्न प्रदेश सभा सचिवालयले तत्परता देखाउनुपर्ने प्रदेश सभा सदस्यहरुले बताए ।
यस्तै, आजै बसेको प्रदेश सभाको दोस्रो बैठकले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश’ बहुमतले स्वीकृत प्रदान गरेको छ ।
उक्त अध्यादेश बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सभामा स्वीकृत गरियोस् भनि प्रस्ताव पेश गरेकी थिइन् ।
यस्तै, सोही बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश लोक सेवा आयोगको चौँथो वार्षिक प्रतिवेदन पेश गरेका थिए ।