मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण

तु खबर संवाददाता
२०८१ जेष्ठ ३,बिहीबार १७:२०

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलालाई घर हस्तन्तरण गरिएको छ ।

टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर बिहीबार एक कार्यक्रमबीच चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले तालाचावी दिएर उक्त घर हस्तान्तरण गरेका हुन् ।

सो क्रममा बोल्दै उनले फाउण्डेसनले मनहरी गाउँपालिकाको समन्वयमा अतिविपन्न चेपाङ समुदायका एकल महिलालाई घर बनाईदिएर अनुकरणीय कार्य गरेको बताए । उनले आगामी दिनहरुमा पनि मकवानपुरका विकट क्षेत्रमा विपन्न परिवारलाई घर बनाएर सहयोग गर्न सो संस्थालाई आग्रह गरे ।

नेता बानियाँले मजदुरी गरेर जीविका चलाउनुपर्ने गरिब, अतिविपन्न तथा एकल महिलाहरु पक्की घर भएपछि हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने बताउँदै अब विपन्न परिवारहरुलाई सीपमुलक तालिमका साथै रोजगारीको अवस्था सिर्जना गर्न प्रदेश सरकारसंग समन्वय गरेर गाउँपालिका लाग्नुपर्ने बताए ।

टुकी फाउन्डेसनले मनहरी गाउँपालिका ४ नयाँबस्ती, ६ को प्रतापपुर र नयाँवस्ती, मनहरी ८ सिम्पानीका एकल महिलाहरु सानुमाया प्रजा, सविता प्रजा, प्रविना प्रजा र जातिमाया प्रजालाई सुरक्षित आवास बनाएर हस्तान्तरण गरेको हो ।

फाउण्डेसनले प्रत्येक एकल महिलाहरुलाई करिब ८ लाख बराबरको सुरक्षित घर, शौचालय र ३० हजार बराबरको बाख्रा र गोठ निर्माण गरिदिएको फाउण्डेसनकी अध्यक्ष सावित्री रजालीले बताइन् ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेसका महासमिति सदस्यहरु राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनी, मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, ८ का वडा अध्यक्ष नारायण उप्रेती, वडा सदस्य मिरा खत्री, समाजसेवीहरु सिताराम बर्तौला, विदुर थापा, भीमसेन लामा, लक्ष्मण कार्कीलगायतको सहभागिता रहेको थियो ।