बागमती प्रदेश: विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकियो

तु खबर संवाददाता
२०८१ जेष्ठ ७,सोमबार १८:१७

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक आर्थिक वर्ष २०८१/०८२ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल सकिएको छ ।

आइतबारबाट सुरु भएको प्रदेश सरकारको आगामी आवको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल सोमबार सकिएको हो ।

छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा, सुझाव र सल्लाह दिएका थिए । छलफलको क्रममा सांसदहरुले सरकारलाई भूगोल अनुसारको बजेट र योजना कार्यान्वयन गर्न सुझाव र दीगो कार्यान्वयन गर्न सल्लाह दिइएको थियो ।

उक्त बैठकमा प्रदेश सभाका सदस्यहरुले आर्थिक वर्षमा प्रदेशको १३ वटै जिल्लाहरुमा भौतिक पूर्वाधारको विकास र कृषिलाई नयाँ प्रविधिबाट उत्पादन गरी बजारमा आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गरेका थिए ।

बैठकमा दीर्घकालिन रुपमा वनजंगललाई डढेलोबाट जोगाउन नयाँ प्रविधिको सोच चिन्तनबाट विभिन्न उपकरणहरु खरिद गरी सम्बन्धित स्थानीय निकायमार्फत् डढेलो नियन्त्रणका लागि स्रोत साधन परिचालन गरिनुपर्नेमा उनीहरुको जोड थियो ।

त्यसैगरी, सिमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीहरुको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजनाहरु तर्जूमा गरी कार्यान्वयनमा ल्याउन भगिरथ प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै प्रदेश सभाका सदस्यहरुले घरेलु पर्यटन, वनस्पति र मौसमी जडिबुटीहरुको संरक्षण गरी बाह्य मुलुकबाट पनि पर्यटन भित्र्याउने कार्यलाई प्रोत्साहन गर्ने खालको आर्थिक कार्यक्रम ल्याउन सरकारलाई मार्गदर्शन गरेका थिए ।

प्रदेशमा भुगोल अनुसारको दीगो पूर्वाधार विकास, खानेपानी, सडक, विद्युत विस्तारको क्रममा योजना छनौट गर्दा दलगत स्वार्थभन्दा माथि उठेर सबै सांसदहरुको माग अनुसार स्थानीय निकायको सिफारिस बमोजिम योजना र बजेटको सिलिङ तोकि कार्यान्वयनमा ल्याउन उनीहरुले आग्रह गरे ।

साथै उनीहरुले विभिन्न वनजंगलमा सडीगलेका वन पैदावर काठहरुलाई सम्बन्धित निकायमार्फत् कानूनी प्रक्रिया पूरा गरी लिलामीमार्फत् राजश्व संकलन गर्न सुझाव दिएका थिए ।

प्रदेश सरकारले अब बागमती प्रदेशको उपयुक्त जिल्लामध्ये एक स्थानमा छनौट गरी जैविक मलखाद्यको कारखाना स्थापना गर्न गुरुयोजना तयार गरी आवश्यक बजेटको सिलिङ छुट्याउन सरकारलाई ध्यानाकर्षण गराइएका थिए ।

‘जनताप्रति उत्तरदायित्व ग्रहण गर्ने गरी बजेटको खाका तयार’

दुई दिनसम्म भएको छलफलको क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सोमबार बसेको प्रदेश सभामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारले ल्याउन लागिएको आगामी आर्थिक वर्षको बजेटलाई जनमुखी, पारदर्शी र जनताप्रति उत्तरदायित्व ग्रहण गर्ने गरी बजेटको खाका तयार भएको बताए ।

उनले प्रदेश सांसदहरुले दिएको सल्लाह, सुझावलाई मध्येनजर गर्दै सरकारले अब आफ्नै क्षमता अनुसार कृषि उत्पादन बढाउन जैविक मल कारखानाको स्थापना गर्ने र सिमान्तकृत चेपाङ, दलित, आदिवासी जनजातिहरुलाई क्रमशः स्वास्थ्य उपचार, शिक्षा र आर्थिक आत्मनिर्भर बनाउने बजेटलाई प्राथमिकता दिइने दृढता व्यक्त गरे ।

प्रदेश सरकारको आगामी आर्थिक वषको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव गत जेठ १ गते बसेको प्रदेश सभा बैठकले स्वीकृत प्रदान गरेको थियो । सो प्रस्ताव प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रदेश सरकारको तर्फबाट सभामा पेस गरेका थिए ।

बागमती प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लाथि स्थगित गरिएको छ ।