सगरमाथा आरोहणका क्रममा बेलायती नागरिकसहित दुई जना बेपत्ता
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा एक बेलायती नागरिकसहित दुई जना आरोही बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन रहेको पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए ।
उनका अनुसार, चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका हुन् ।
दुवै जनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ता दुवै जनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।