लाइसेन्स प्रकरणमा मुछिएका कर्मचारी धरौटीमा रिहा

तु खबर संवाददाता
२०८१ जेष्ठ १०,बिहीबार ०९:०९
file-photo

काठमाडौं । हिरासतमा रहँदा शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका दुई जना कर्मचारी धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार, अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत अधिकृत नारायण प्रसाद पाण्डे धरौतीमा रिहा भएका हुन् ।

उनीहरु जनही ५ लाख धरौटीमा रिहा भएका हुन् । न्यायाधीश दुर्गालाल भुसालले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टसँग भने अदालतले २ लाख धरौटी मागेको छ । तर, लाइसेन्स घोटालाबारे भट्टविरुद्धको अर्को मुद्दा नटुङ्गिएको हुनाले उनलाई हिरासतमा नै राखिएको जनाइएको छ ।

बुटवल प्रहरीको हिरासतमा थुनामा रहेको बेला शशाङ्क बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले कम्यूटर अपरेटर नारायण प्रसाद पाण्डेसहित ७ जनालाई प्रतिवादी बनाएको थियो ।

पक्राउ परेका ३ जना, रुपन्देही घर भएका २८ वर्षीय अकरामुद्दिन मुसलमान, पाल्पा घर भएका २० वर्षीय शशाङ्क बस्याल र पाल्पा घर भएका ५१ वर्षीय ठानेश्वर बस्याल र रुपन्देही घर भएका अरुण कार्की भन्ने लट्टु नाउलाई फरार प्रतिवादी कायम गरिएको थियो ।