बागमती प्रदेशः भौतिक संरचना निर्माण गर्दा स्वदेशी काठको प्रयोग गरिने
मकवानपुर । बागमती प्रदेश सरकारमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गरिने भएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिकरण गर्दै यस्तो जानकारी गराएका हुन् ।
उनले विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी काठको गुणस्तर वृद्धि गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए ।
मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकारणका लागि आवश्यक व्यवस्था गरिने बताउँदै उनले बाँदर, बँदेललगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।
प्रदेश प्रमुख शर्माले वनको पत्करबाट प्राङ्गारिक मल बनाउने कार्यक्रम सञ्चालन गरिने बताए ।
डढेलो मुक्त प्रदेश निर्माणका लागि संयन्त्र निर्माण गरी औजार उपकरणसहित व्यवस्था गरिने उनको भनाई छ ।