स्वास्थ्य मन्त्रीद्वारा अस्पतालमा जनशक्ति र उपकरणको अभाव हुन नदिने प्रतिवद्धता
सिन्धुपाल्चोक । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पतालमा जनशक्ति र उपकरणको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
अब चाडै सेवा बिस्तार गर्न दत्तचित्त भएर लाग्न सम्पुर्ण अस्पतालका कर्मचारी, चिकित्सकहरुलाई आग्रह समेत गरे । स्वास्थ्य सेवा सबैको लागि अपरिर्हाय भएकाले सबैसँग समन्वय गरेर अगाडि बढ्न अतिआवश्यक भएको औल्याए । समृद्ध नेपाल सुखी नेपाली हुनका लागि स्वास्थ्यको निकै महत्वपूर्ण भुमिका रहने उनको भनाई छ ।
बागमती प्रदेश भरिका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै स्वास्थ्य सेवाको पँहुच पुग्नेगरि प्रदेश मन्त्रालयले योजना बनाएको समेत बताए । साथसाथै विश्वभरी फैलिएको आत्माहत्या न्युनीकरणका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गरिरहेको समेत स्पष्ट पारे ।
स्वास्थ्य मन्त्रालयले सर्वपक्षीय संयन्त्रको निर्माण गरी जनचेतनाका लागि स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै लैजाने समेत बताए ।
चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहको प्रमुख आतिथ्यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए ।